Mon. Apr 29th, 2024

अग्‍नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, २०७६ माघ १२ गते आईतबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ स्थगित भएको छ। आइतबार सुनुवाइ हुने भनिएको नेता सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको थियो।

तर, सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीका हैसियतले बहस गरेकाले नैतिकताका आधारमा हेर्न नमिल्ने भएपछि रिट स्थगित भएको हो। मुद्दाको सुनुवाइ सोमबार तय भएको जनाइएको छ।

सभामुख चयनका लागि आज प्रतिनिधिसभामा निर्वाचन हुँदैछ। सापकोटा प्रतिनिधिसभा सभामुखका एक्ला उम्मेदवार हुनुहुन्छ।

सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै सापकोटालाई पक्राउ गरेर छानबिन गर्न सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गर्नुभएको थियो । प्रहरीले वारेन्ट गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनमाथि चुनौती थपिने उहाँको भनाई थियो ।

द्वन्द्कालीन अवस्थामा तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिनुभएको थियो । उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको छ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा संचारमन्त्री नियुक्त हुनुभएको थियो । सापकोटालाई मन्त्री बनाएका बेला मन्त्री रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले जाहेर गरेको रिट सर्वोच्चमा विचाराधिन छ।

अघिल्लो रिटमा प्याकुरेललगायतका निवेदकले सापकोटालाई मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गर्नुभएको छ । अघिल्लो रिट भने सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन छ। नेता अर्जुन लामा हत्या अभियोग लागेका सांसद सापकोटाले सभामुखमा उम्मेदवारी दिएका छन्। दिनुभएको छ भने वहाँ आजै सभामुख बन्ने लगभग निश्चित छ । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments