नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ सहितको टोलीले आज एमाले, माओवादी र समाजवादीका शीर्ष नेतालाई भेट्दै
काठमाण्डौं, २०७९ असार २७ गते सोमबार । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानछाओ सहितको टोलीले आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
टोलीले आज नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । ओलीसँगको भेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्ने कार्यक्रम तय भएको छ । सो टोलीले भोलि मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।
लिउले आइतबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नु भएको थियो । सो भेटमा लिउले नेपालमा कुनै पनि किसिमका चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिनुभएको थियो ।