Fri. Apr 26th, 2024

न्यायाधीश र अधिवक्ताबीचको वार्ताबारे सत्य अनुसन्धान गर्न नेपाल बारको माग

काठमाण्डौं, २०७९ असार ८ गते बुधबार । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न  नेपाल बार एशोसिएशनले माग गरेको छ ।

जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच तामाङलाई धरौटीमा छुटाउन गरेको वार्ताको सत्यतथ्य बारे छानबिन गर्न नेपाल बारले माग गरेको हो ।

बारका महासचिव अन्जिता खनालले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि नेपाल बार एशोसिएशन सम्बन्धित नियमनकारी निकायसँग जोडदार माग गर्दछ ।”

बारले नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यको निन्दासमेत गरेको छ ।।

न्यायपालिकामा विद्यमान विक्रिती, विसंगती, विचौलियाको चलखेल र भ्रष्टाचारका विरुद्ध निरन्त संघर्ष गरिरहेको नेपाल बारले यस्ता विषयमा गम्भिर हुनुपर्ने सरोकारवालाहरुको धारणा रहेको छ ।

Facebook Comments