Tue. Dec 24th, 2024

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन लोसपाको ज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाउँदै । फोटो : रासस

काठमाण्डौं, २०७९ जेठ २४ गते मंगलबार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने माग राखेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री देउवासमक्ष आज यो माग राखेको हो । ११ बुँदे मागसहितको ज्ञापनपत्रमा लोसपाले आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग पनि राखेको छ ।

अध्यक्ष ठाकुरका साथमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु बालुवाटार पुग्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो पार्टीका मागप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि पहल गर्ने बताउनुभएको छ । लोसपाका नेता लक्ष्मणलाल कर्णले लोसपाको मागप्रति प्रधानमन्त्री सकारात्मक हुनु भएकको र कार्यान्वयन गर्ने बचन दिनुभएको जानकारी दिनु भयो । उहाँले वर्तमान सरकारले यसलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नु भयो ।

सपाले विगतदेखि उठाएका माग, यसअघिका विभिन्न सरकारसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन नभएको भन्दै अविलम्ब कार्यान्वयन गर्न वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा मधेस-थरुहट आन्दोलनलगायत नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने, रेशम चौधरीलगायत बन्दीहरुको रिहाइ गरिनुपर्ने माग गरिएको छ । नेपालका उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी (दलित), महिला, मुस्लिमलगायतका सम्मान, पहिचान र अधिकार प्राप्तिको लागि संविधान संशोधन गर्न लोसपाले माग गरेको छ ।

यस्तै तीन तहको सरकारद्वारा समानुपातिक बजेट वितरणको सिद्धान्त लागू गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ । त्यसैगरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुनिश्चित गरिनुपर्ने, कृषकलाई मलको व्यवस्था गर्नुका साथै बाढीपहिरोलगायत विपद् जोखिम नियन्त्रण र विस्थापितको बसोबासको व्यवस्था गरिनुपर्ने, भूमिहीन उत्पीडित समुदायलाई प्राथमिकतामा राखेर जग्गा उपलब्ध गराउन लोसपाले ध्यानाकर्षण गराएको छ ।

Facebook Comments