Mon. Dec 23rd, 2024

नेपाल-भारत शारीरिक रूपमा चुनौतीपूर्ण टी २० क्रिकेट श्रृंखलाको प्रत्यक्ष प्रसारण रे टेलिभिजनले गर्ने

काठमाण्डौं, २०७९ जेठ २४ गते मंगलबार । नेपाल र भारतबीचको नेपाल–भारत शारीरिक रूपमा चुनौतीपूर्ण टी २० क्रिकेट श्रृंखलाको प्रत्यक्ष प्रसारण रे टेलिभिजन एचडीबाट हुने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रे टेलिभिजन एचडी र नेपाल ह्विलचियर क्रिकेट संघबीच प्रतियोगिताको प्रसारण अधिकार सम्झौता सम्पन्न भएको छ । प्रतियोगिताको डिजिटल अधिकार खेलपाटी डटकमले पाएको छ ।

सम्झौतामा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेल र ह्विलचियर क्रिकेट संघ र नेपाल क्रिकेट संघ बागमती प्रदेशका प्रविधिक प्रमुख रविन्द्र गुप्ताले हस्ताक्षर गर्नु भयो ।

कार्यक्रममा बोल्दै रे टेलिभिजनका अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्न रे टेलिभिजन सधै तत्पर भएको जिकिर गर्दै शारीरिक रूपमा चुनौतीपूर्ण क्रिकेटको प्रत्यक्ष प्रसारण प्रशारणले अपाङ्गता भएका व्यक्तीहरुलाई सशक्तिकरण गर्न टेवा पुग्ने बताउनु भयो ।

“हाम्रो यस प्रयासले अपाङ्गता भएका व्यक्तीहरुलाई सशक्तिकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छु” । अध्यक्ष पौडेलले भन्नु भयो, ” भिन्न क्षमता भएका व्यक्तिहरुलाई प्रोत्साहित गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो । ह्विलचियर क्रिकेट संघसंगको यो सम्झौताले हामीलाई थप जिम्मेवारी बोध गराएको छ ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर समेत रहनु भएका ह्विलचियर क्रिकेट संघका प्रविधिक प्रमुख गुप्ताले नेपाल भारत शारीरिक रूपमा चुनौतीपूर्ण टी २० क्रिकेट श्रृंखलाको प्रत्यक्ष प्रसारण गर्ने रे टेलिभिजनको निर्णयको स्वागत गर्दै यसले नेपाली ह्विलचियर क्रिकेटमा नयाँ आयाम थपेको बताउनु भयो ।

” रे टेलिभिजनको यो निर्णयको स्वागत गर्दछु । यसले नेपाली ह्विलचियर क्रिकेटमा नयाँ आयाम थपेको छ” । गुप्ताले भन्नु भयो, ” हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागिएका हौ ”।

नेपाल भारत शारीरिक रूपमा चुनौतीपूर्ण टी २० क्रिकेट श्रृंखला जेठ २७ गते देखि २९ गते सम्म चल्नेछ ।

मूलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेल जेठ २७ गते दोस्रो खेल जेठ २८ गते तथा तेस्रो खेल जेठ २९ गते खेलिने छ । सिरिजका सबै खेलहरु नेपाली समय अनुसार बिहान १० बजेदेखि सुरु हुनेछन् ।

केही समय अगाडि भारत बंगलादेशमा सम्पन्न फोर नेसन कपको उपविजेता टोली हो । त्यसमा नेपाल लिग चरणबाट बाहिर हुन पुगेको थियो ।

Facebook Comments