Sat. Nov 16th, 2024

रानीको स्वागतमा उपवन निर्माण

- चिनियाँ लोककथा

काठमाण्डौं, २०७९ जेठ २१ गते शनिबार ।  एकदिन राजदरबारबाट एक दूत आएर राजकीय आदेश सुनाएर पाओय्विका बाबु चिया चङ्लाई राजदरबारमा लिएर गयो । के कामका लागि दरबारबाट बोलावट भएको हो, थाहा नभएको हुँदा चिया माता लगायत महलका सबैजना चिन्तित भए । चिया चङ् दरबार भित्र गएको केही घण्टा पछि दरबारबाट फेरि अर्को दूत आएर चिया चङ्की छोरी, पाओय्विकी दिदी चिया य्वीयान्‌छुन् रानी बन्न छनोट भएको शुभ समाचार सुनाएर गयो । त्यसपछि त तुरुन्तै दुबै महलमा खुशी छायो, सबैले परिवारका मूली चिया मातालाई बधाइ दिए ।

          केही वर्षदेखि दरबारमा बस्दै आएकी य्वीयान्‌छुन्‌ले दरबार पसेदेखि आफ्नो घर फर्किन पाएकी थिइनन् । अब रानी बने पछि सम्राट्ले उनीलाई एकपटक माइती फर्केर आमाबाबु परिवार भेट्ने अनुमति दिए । य्वीयान्‌छुन् रानी माइती फर्किने समय चीनिया नयाँ वर्षको पन्ध्रौं दिन य्वीयान् सियाउ चाडका निश्चित गरियो ।

          आफ्नी छोरी रानी बनेर माइती फर्किन लागेको हुँदा उनीको स्वागत एउटा ठूलो उपवन निर्माण गरी त्यहीं गर्ने निर्णय गरियो । दुई महलसंग जोडिएको एउटा ठूलो जमिनमा उपवन निर्माण गर्ने काम छिटै थालियो । यस्ता व्यावहारिक कामहरूमा चिया चङ्को अभिरुचि नभएको हुँदा उनका दाजु चिया श र भतिजाहरू चिया लियान्, चिया चन् आदि उपवन निर्माण कार्यको रेखदेखमा व्यस्त हुन थाले । निर्धारित समयमा उपवन निर्माण कार्य पनि सम्पन्न भयो । सूचउतिरका उद्यानहरूको आधारमा बनाइएको उक्त उपवनमा करिब दशवटा घरचोकहरू बाहेक मानव निर्मित पहाड, ठूला ढुङ्गाहरू, पोखरीहरू, खोल्साहरू र पूलहरू पनि थिए । निर्माण कार्य सम्पन्न भए पछि चिया चङ्लाई निरीक्षण गर्नका लागि आमन्त्रित गरियो । त्यति बेला चीनिया प्रचलन अनुसार उपवनको भित्र भएका घरहरू र विभिन्न स्थानहरूको नामाकरण गर्न बाँकी थियो । रानीको स्वागतका लागि बनाइएको उपवन भएको हुँदा रानीले नै ती स्थानहरूको नामाकरण गरिदिनु भए सबैभन्दा राम्रो हुन्थ्यो । फेरि देख्दै नदेखेको भवन र स्थानहरूको नामाकरण रानीले पनि कसरी गर्न सक्लान् ? नामाकरण नगरिकन त्यतिकै छोड्दा पनि खाली देखिने भयो । यी कुराहरू सम्झेर चिया चङ् केही चिन्तित हुनुभयो । त्यसैबेला वहाँले आफ्ना छोरा पाओय्विलाई सम्झिन पुग्नुभयो, पाओय्वि सरकारी सेवा प्रवेश परीक्षाका लागि पढ्नु पर्ने पुस्तकहरू पढ्न मन नगर्ने भए पनि गीत कविता आदिमा त उनको ठूलो अभिरुचि थियो, उनले भवन र स्थानहरूको नामाकरणको काम गर्न पो सक्दछ कि भन्ने विचार गरी चिया चङ्ले पाओय्विलाई डाकेर आफूसंग उपवन डुलाउन लैजानुभयो । बाबुले डाकेपछि सधै एकदम डराउने पाओय्वि त्यस दिन पनि एकदम डराएका थिए । नयाँ बनाइएको उपवनको कुनै एक दर्शनीय स्थानमा पुगेपछि चिया चङ्ले पाओय्विलाई यो ठाउँको नाम के राख्नु पर्ला भनेर सोध्नुहुन्थ्यो । पाओय्विले पनि विचार गरेर यो नाम राख्नु पर्ला भनेर जवाफ दिन्थे । बाबुले “किन त्यस्तो नाम राखेको, के आधार छ त्यसको ?” भन्नुभए पछि पाओय्विले आफ्नो व्याख्या सुनाउँथ्यो । चिया चङ् र पाओय्वि सँगै उपवन घुम्न आएका सबैजनालाई पाओय्विले राखेका नामहरू र तिनीहरूको व्याख्या उचित लागेको थियो, मनमा चिया चङ् खुशी पनि हुनुहुन्थ्यो, तर वहाँले अघिपछिको स्वभाव अनुसार पाओय्विलाई “यो भएन, त्यो भएन” भनेर गाली गर्दै जानुभयो । चिया चङ्को गाली गराइ पहिलेभन्दा फरक भएकोले वहाँलाई पनि पाओय्विको उत्तर चित्त बुझेको रहेछ भन्ने सबैले बुझे ।

          उपवन घुमेर विभिन्न स्थानहरूको नामाकरण गर्ने काम सकिए पछि चिया चङ्ले एक दुई स्थानमा बाहेक अरू सबैमा पाओय्विले राखेका नामहरू नै लेखेर टाँगिदिन निर्देशन दिएर जानुभयो । चिया चङ् त्यहाँबाट जानु हुनासाथ पाओय्विका साथी सहपाठीहरू पाओय्विलाई बधाइ दिँदै “आज बाबुबाट समेत प्रशंसा पाएको दिन हामीलाई के इनाम दिने ?” भनेर कराउन थाले । पाओय्विले सबैलाई सय सयवटा सिक्का दिन्छु भने । तर साथी सहपाठीहरूले “पैसा दिएर हुँदैन” भन्दै पाओय्विले लगाएको माला, जीउमा भएको रुमाल, पङ्खा आदि खोसेर लगे ।

          पाओय्वि त्यहाँबाट आफ्नो कोठामा फर्किंदा सेविकाहरूले खुशी मनाए, उनीहरूले पनि आज पाओय्वि आफ्ना बाबुबाट प्रशंसित भएको पहिलै नै सुनिसकेका थिए । पाओय्विको मुख्य सेविका सीरेन्‌ले पाओय्विलाई हेर्दै “अघिपछि लगाउने माला आदि खोइ त ?” भनेर सोधिन् । त्यसैबेला लीन् ताइय्वि पनि पाओय्विलाई भेट्न आइन् । आफूले सूचउबाट ल्याएर उपहार दिएको सानो थैली पनि पाओय्विको जीउमा नदेखेर लीन् ताइय्विले “त्यो सानो थैली खोई ?” भनेर सोधिन् । पाओय्विले “ती सबै वस्तुहरू साथीहरूले लुटेर लगे” भन्यो । लीन् ताइय्वि चाहिं “मैले दिएको थैली पनि तिमीले उनीहरूलाई दियौ” भनेर रिसाउन थालिन् । अनि रिसाएर “अबदेखि म तिमीलाई केही पनि दिन्न, केही पनि” भन्न थालिन् र आफूले पाओय्विका लागि बनाउँदै गरेको रेशमको सानो थैली झोलाबाट निकालेर त्यसलाई कैंचीले काट्न थालिन् । पाओय्विले त्यसलाई बचाउन खुब कोशिश गरे, तर त्यो दुई टुक्रा भइसकेको थियो । पाओय्विले पनि केही रिसाएर आफ्नो लुगाको भित्री खल्तीबाट पहिले उनीले उपहार दिएको थैली निकालेर लीन् ताइय्विको हातमा राखिदिँदै भन्यो, “तिमीले दिएका कुराहरू मैले कहिले अरूलाई दिएको छु ? ल यही होइन ?” लीन् ताइय्वि आफू छिटै रिसाएर बनाउदै गरेको थैली काटेकोमा अप्ठ्यारो मान्दै थिइन्, पाओय्विले त्यसरी पहिले उपहार दिएको थैली निकालेर देखाए पछि उनी फेरि रिसाएर त्यसलाई पनि काट्न खोजिन् । त्यसलाई चाहिं पाओय्विले कुनै उपायले बचाए । लीन् ताइय्वि “तिम्रो के कुरा सही, के कुरा झुठो, मैले कसरी थाहा पाउने ? किन मलाई यसरी दुःख दिन्छौ” भन्दै रुन थालिन् । पाओय्विले धेरै पटक माफी मागेपछि बल्ल उनी शान्त भइन् ।

  पूर्व निर्धारित दिनमा रानी बनेकी चिया य्वीयान्‌छुन् माइती फर्किन् । त्यसदिन बिहानैदेखि रोङ्-कुओ-फूमा चहलपहल भइरह्यो । बारम्बार राजदरबारबाट दूतहरू त्यहाँ आउँदथे । चिया माता लगायत सबैजना सिंगारपटार गरी रानीको स्वागत गर्न तयार भइरहनुभयो । केही समयपछि सम्राट्का निजी सेवक दूत बनी त्यहाँ आएर “रानीको सवारी हुँदा साँझ हुन्छ होला, अहिले तपाईंहरू आराम गरेर बस्नु भए हुन्छ” भनेर गयो । चिया माता आदि सबै आराम गरेर बस्नु भयो । साँझ हुन थाले पछि राजसी ठाँटबाँटका साथ चिया य्वीयान्‌छुन् रानी माइती फर्किन् । उनीलाई स्वागत गर्न बनाइएको नयाँ उपवन देख्नासाथ उनीले “यो त साह्रै खर्चिलो भयो” भनिन् । त्यसपछि डुङ्गामा राखेर उपवनभित्रका खोल्सा (नहर) बाट उपवन घुमाउने काम भयो । उपवनभित्रको मुख्य भवनमा रानीलाई विराजमान गराए पछि चिया परिवारका महिला र पुरुषहरू छुट्टाछुट्टै क्रमबद्ध भएर रानीको सामुहिक दर्शनभेटका लागि आए । उनीहरूले घुँडा देखेर अभिवादन गर्न खोज्दा रानीले “पर्दैन” भनेर फर्काइ दिइन् । सामुहिक दर्शन भेट पछि चिया चङ्ले टाढै बसेर घुँडा टेकेर औपचारिक रूपमा स्वागत गर्नुभयो । स्वागत गर्दा वहाँले कतै पनि आफ्नी छोरी भनेर सम्बोधन गर्नुभएन, सँधै रानी भनेर मात्र सम्बोधन गर्नुभयो । वहाँले रानीलाई स्वागत गर्न पाएकोमा आफू धन्य भएको र जीवनभर सम्राट्प्रति वफादार रहने प्रतिबद्धता जाहेर गर्नुभयो । रानीले प्रतिउत्तरमा पिता भनेर सम्बोधन गरे पनि खास गरी सम्राट्प्रति वफादार रही कर्तव्य गरिरहन भन्नेमा जोड दिइन् र पितामाताले स्वास्थ्यको विचार गर्नु होला भनेर पनि भनिन् । रानीले चिया माता र आमा वाङ् फूरेन्‌लाई अनौपचारिक रूपमा भेटिन् । रानीले चिया मातालाई झुकेर अभिवादन गर्न खोज्दा चिया माता र वाङ् फूरेन् नै पहिले घुँडा टेक्न पुग्नुभयो । एकै छिनमा रात्रिभोजको आयोजना गरियो । रात्रिभोज पछिको समयमा रानीले भाइबहिनीहरूलाई डाकेर उपवनमा भएका विभिन्न दर्शनीय स्थानहरूको बारे कविता लेख्न लगाइन् । केही घण्टा त्यसरी नै बित्यो । मध्यरात नाघेपछि रानीका सेविकाहरूले रानीलाई राजदरबार फर्किने समय भएको जानकारी गराए । रानी सबैसंग बिदावारी भई रुँदै राजदरबार फर्किन् ।

          रानीको स्वागतमा अति व्यस्त भएका हुँदा सबैजना थकित भएका थिए । केही मनोरंजन गरी थकान हटाउन नीङ्‌-कुओ-फूको चिया चनले कलाकारहरू महलमा डाकी नाटक प्रदर्शन गराए । पाओय्विलाई नाटक हेर्ने मन भएन, उनी चाहिं एक जना सेवक साथमा लिई महलबाट बाहिर निस्किए । सेवकले घरमा सोधिकन निस्केको हुँदा धेरै टाढा नजाऔं भनेर सल्लाह दियो । पाओय्विकी प्रमुख सेविका सीरेन् आमा र दाजु भेट्न आफ्नो घर फर्कि रहेकी थिइन्, उनीको आमाको घर धेरै टाढा पनि थिएन, त्यसैले पाओय्वि सेवक साथमा लिएर सीरेन्‌की आमाको घर आइ पुगे । पाओय्वि त्यसरी अकस्मात् आइपुगेको देखेर सीरेन्‌ र उनीका परिवार खुशी भए, तर यो कुरा अरूले थाहा पाए नराम्रो हुने भएकोले चिन्तित पनि भए । पाओय्वि सीरेन्‌की आमाको घरमा केही छिन बसेर फर्किहाले, सीरेन्‌ले पनि त्यही दिन फर्किन्छु भनिन् । सीरेन् फर्केर महलमा आइपुगे पछि पाओय्विले “आमा दाजुसंग के कुरा भयो ?” भनेर सोध्यो । सीरन्‌ले पाओय्विको मन चोर्न “वहाँहरूले अरू एक वर्ष पछि पैसा तिरेर मलाई यहाँबाट निकालेर लैजान्छौं, धैर्य गरेर बस भन्नुभयो” भनिन् । यो सुनेर पाओय्वि झसङ्ग भए र अलि आत्तिएर “अनि तिमीले के भन्यौ त, के तिमीलाई यहाँ बस्न मन लाग्दैन ? भनेर सोध्यो । सीरेन्‌ले भनिन् “मन त लागेको छ नि, तर यो मेरो घर होइन, राजदरबारमा सेवा गर्न गएका केटीहरू त निश्चित समय भएपछि बाहिर पठाइन्छन्, यहाँ महलमा सधै बस्ने भन्ने त कुरै हुँदैन नि ।” पाओय्विलाई उनीको कुरा ठीक त लाग्यो, तर उनीलाई निस्केर जान दिन भने उ पटक्कै चाहदैनथ्यो । पाओय्विले निराश भएर “अब के गर्दा तिमीलाई महल भित्रै राखिरहन सकिन्छ होला त ?” भनेर सोध्यो । सीरेन्‌लाई पाओय्विलाई छोडेर जान त पटक्कै मन लागेको थिएन । उता आमाकहाँ वहाँहरूले पैसा जम्मा गरेर अर्को वर्ष महलबाट छुटाएर लैजान आउँछौं भनेर भन्दा सीरेन्‌ले आमा दाजुलाई “तपाईंहरूका लागि म मरेकै सम्झिनु होला, म महलबाट निस्केर के गर्ने ? उहिले पैसाका लागि मलाई बेचिदिनु भयो, बेचिएर पनि भाग्यले त्यति असल घरपरिवारमा परे, त्यहाँ खाने लाउने मालिकहरू जस्तै पाइन्छ, फेरि गाली गर्ने, पिट्ने कोही छैनन्, आफ्नो मालिक कति असल हुनुहुन्छ देखिहाल्नु भयो, त्यसैले मलाई छुटाउन आउनु पर्दैन, म बाँचे पनि त्यहीं बाँच्छु, मरे पनि त्यहीं मर्छु” भनेकी थिइन् ।

          आफूलाई महल भित्र राखिराख्न पाओय्विले जे वाचा गर्न पनि तयार भएको देखेर सीरेन्‌ले “मलाई यहाँ राखिराख्ने विचार छ भने तपाईंले अबदेखि राम्ररी पढेर ज्ञानी बन्छु, महलभित्रका केटीहरूसंग मात्र खेलेर बस्दिन भनेर वाचा गर्नुपर्दछ, तपाईंले त्यति वाचा गर्नु भयो भने, म कसैले आठ जना मान्छेले बोक्ने डोली लिएर आए पनि यहाँबाट निस्केर जाँदिन” भनिन् । पाओय्विले तुरुन्तै “हुन्छ दिदी, हुन्छ, अब देखि म राम्ररी पढने वाचा गर्छु” भन्यो ।

          केही दिन पछि स्य्वे पाओछाइको १५ वर्षको जन्मदिन थियो । त्यसबेला चीनमा १५ वर्ष पुग्दा केटीहरू वयस्क भएको मानिने भएको हुँदा १५ वर्षको जन्मदिन अलि भव्य रूपमा मनाउने चलन थियो । रोङ्-कुओ-फू महलको साना ठूला सबै काम सम्हालेर बसेकी वाङ् सिफङ्ले स्य्वे पाओछाइको जन्मदिनमा सँगै खाने पिउनेबाहेक बाहिरबाट कलाकारहरू डाकेर गीति नाटक देखाउने कार्यक्रम बनाइन् । सबैजना नाटक हेर्न जम्मा भए, स्य्वे पाओछाइको जन्मदिन भएको हुँदा चिया माताले उनैलाई के के नाटक हेर्ने हो फर्माइस गर्न भन्नु भयो । सबैलाई रिझाउन जानेकी स्य्वे पाओछाइले चिया मातालाई मन पर्ने नाटकहरू फर्माइस गरिन् । एउटा गीति नाटकमा गाएको गीतको “… केही नलिई आएको थिएँ, केही नलिई नै जानेछु…” भन्ने एक वाक्य सुनेर पाओय्वि गम्भीर भई त्यही वाक्य दोहोर्‌याएर बस्न थाले । त्यो देखेर स्य्वे पाओछाइले “ल, यो भाइले त ज्ञान प्राप्त गरे जस्तो छ” भनेर जिस्काइन् ।

  नाटक सकिएपछि वाङ् सिफङ्‌ले ती कलाकारहरू मध्ये एउटीलाई आफूतिर तानेर, “हेर्नुस् त सबैले, यी केटी को जस्ती छिन् ?” भनेर सोधिन् । उनी हेर्दा लीन् ताइय्वि जस्ती देखिन्थिन् । सबैले हेर्नासाथ थाहा पाए, तर लीन् ताइय्वि रिसाउलिन् भनेर कसैले केही बोलेनन् । खालि चिया माताका दाजुका नातिनी श्‌र् सियाङ्य्वीन्‌ले, जो केही दिन बस्न रोङ्-कुओ-फूमा आएकी थिइन्, प्याच्च “उनी हाम्री लीन् दिदी जस्ती छिन्” भनिन् । त्यसबेला पाओय्विलाई लीन् ताइय्वि रिसाउलिन् बन्ने डरले श्‌र् सियाङ्य्वीन्‌लाई आँखाले नभन्नका लागि ईशारा गरे । लीन् ताइय्विले त्यो पनि देखिहालिन्, उनी रिसाएर केही नबोलिकन आफ्नो कोठातिर लागिन् । उनीलाई फकाउन भनी पाओय्वि पनि लीन् ताइय्विको कोठामा गयो । लीन् ताइय्विले पाओय्विलाई कोठामा पस्न दिइनन् र आफूलाई नटुवासंग दाँजेर कुरा गर्ने भनेर रोइन । पाओय्विले कोठा बाहिरबाटै आफूले त्यस्तो भनेको थिइन भन्यो । लीन् ताइय्विले उल्टै “तिमीले सियाङ्य्वीन्‌ बहिनीलाई त्यसरी आँखाले ईशारा गरेको आफ्नै मुखले भनेको भन्दा पनि बढी भयो” भनिन् । पाओय्वि हार मानेर त्यहाँबाट हिँड्यो । उता श्‌र् सियाङ्य्वीन् बहिनी पनि पाओय्विसंग रिसाएर बसेकी रहिछिन्, पाओय्विलाई देख्नासाथ रिसाएर “मलाई जस्तो लागेको थियो भनिदिएँ, मलाई त्यसरी किन आँखाले ईशारा गर्नु पर्ने, के म तपाईंकी लीन् बहिनीसंग तुलना गर्न लायककी छैन भनेर त्यसरी हेप्नु भएको हो ?” भनेर कराइन् । दुई बहिनीबीच सम्बन्ध बिग्रन नदिन आफूले प्रयास गर्दा दुबैजना आफैसंग रिसाएका देखेर पाओय्वि निराश भएर आफ्नो कोठामा गएर रुन थाल्यो । त्यही गीतको हरफ “केही नलिई आएको थिएँ, केही नलिई जानेछु” भन्ने वाक्य दोहोर्‍याउँदै, बरु म अहिले नै मरेर खरानी भएको भए हुन्थ्यो भन्न थाल्यो ।

          माइतीमा आएर आफ्ना नातेदारहरू भेटेर फर्केपछि रानी य्वीयान्‌छुन्‌ले एक दिनमा दरबारमा बसेर सोच्न थालिन्, आफ्नो स्वागत सत्कारका लागि बाबुले एउटा नयाँ उपवन नै बनाउनु भएको थियो, त्यो उपवन अहिले बन्द गरेर राख्नु भएको होला । उपवन भित्र धेरैवटा कोठाहरू पनि थिए, ती पनि खाली नै होलान् । त्यसैले रानीले एक दूतलाई आफ्नो बाबुलाई त्यो उपवनमा परिवारजनलाई जान दिन र आफ्ना भाइ पाओय्वि र अरू बहिनीहरूलाई उपवनभित्रका कोठाहरूमा बस्न दिन पत्र दिइपठाइन् । रानीको पत्र प्राप्त भए पछि चिया चङ्ले आफ्नी श्रीमती वाङ्‌फूरेन्‌संग सल्लाह गरी कुनै शुभदिनमा छोरा, छोरी भतिजी भदैहरूलाई उपवनमा बस्न लगाउने निधो गर्नुभयो । त्यही कुरा बताउन चिया चङ्ले पाओय्वि र छोरीहरू भतिजीहरूलाई डाक्नुभयो । आफ्नो बाबुले डाकेपछि सधै डराउने पाओय्वि त्यसदिन पनि डराई डराई गयो । त्यसदिन चिया चङ्ले आफ्नो छोरा पाओय्विलाई खासै गाली गर्नुभएन, खालि “उपवनमा बस्न गएपछि चकचके भएर नहिँड्नू, राम्ररी पढ्नू” मात्र भन्नुभयो । त्यसदिन पाओय्वि आफ्ना बाबुकहाँबाट सकुशल फर्केको देखेर सीरेन् आदि सेविकाहरू पनि खुशी भए ।

          यीङ‍्छुन्, थान्‌छुन्, सीछुन्, पाओय्वि, लीन् ताइय्वि, स्य्वे पाओछाइले आपसमा सल्लाह गरी उपवनमा आफूलाई मन पर्ने कोठाहरूमा बस्न गए । उनीहरूले आफ्नो कोठाको नाम अनुसार आ-आफ्नो साहित्यिक उपनाम पनि राखे । लीन्‌ ताइय्विले रोजेको कोठा र पाओय्विले रोजेको कोठा एक अर्कोबाट धेरै टाढा थिएन ।

(चिनियाँ साँस्कृतिक केन्द्र, काठमाण्डौंको वेभसाइटबाट साभार)

Facebook Comments