Mon. May 20th, 2024

तारा एयरको विमान दुर्घटना अपडेट : विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रुको नामावली

काठमाण्डौं, २०७९ जेठ १५ गते आईतबार । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान अहिलेसम्म पनि सम्पर्कविहीन रहेको छ । सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभएको छ । तर सम्भावित दुर्घटनास्थल वरपर वाक्लो कुहिरो लागेकोले खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभएको छ । विमानमा १९ जना यात्रु र चालक दलका ३ जना सदस्य रहेको जनाइएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना अन्य देशका नागरिकहरुले यात्रा गरिहेका थिए । सो विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाउनु भएको थियो भने उत्सव पोखरेल सहचालक हुनुहुन्थ्यो । सो विमानमा एयर होस्टेस किस्मी थापा रहनु भएको थियो ।

सम्पर्कविहीन विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार हुनुभएको थियो ।

Facebook Comments