Mon. Dec 23rd, 2024

एमाले अध्यक्ष ओलीद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना, समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी एमाले भएको भनाई

फाईल फोटो

काठमाण्डौं, २०७९ जेठ १५ गते आईतबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा अध्यक्ष ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताउनुभएको छ ।  जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ ।

‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वाच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो ’अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘ यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो ।’ यसै परितवर्नत पछि नेपालले संघ,प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।

आजको दिनलाई मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ताको स्रोत नेपाली जनतामा निहित रहने ऐतिहासिक उपलब्धि भएको दिन भएको स्मरण गर्दै अध्यक्ष ओलीले संविधानले परिभाषित गरेका राज्यका अङ्गहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या र अपव्याख्याद्वारा गरिने प्रहार प्रति सबै नेपाली सचेत रहन आवश्यक रहेको बताउनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले निराशा बाँडेर बस्ने हाम्रो सामाजिक प्रवृत्तिलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको दाबी गर्नुहुँदै अहिले मुलुकको दूरगामी यात्रालाई अलमल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍याउने काम भएको उल्लेख गर्नुभएको छ ।

आज मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेका उल्लेख गर्नुहुँदै उहाँले  केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको बताउनुभएको  छ । नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी भएको भन्दै उहाँले राष्ट्रको यस आकाङ्क्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न आफूहरूले चाहिरहेको उल्लेख गन्नुभएको छ ।

 

Facebook Comments