Thu. Jun 27th, 2024

काठमाण्डौं महानगरपालिकासहित अझै ४ वटा पालिकाको मतपरिणाम आउन बाँकी

काठमाण्डौं, २०७९ जेठ १२ गते बिहीबार । स्थानीयतह निर्वाचन २०७९ अन्तर्गत गत वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना कार्यअन्तर्गत काठमाडौं महानगरपालिकासहित अझै चारवटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगका अनुसार देशका जम्मा ७ सय ५३ वटा पालिका मध्ये ७ सय ४८ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी रहेका पालिकाहरुमा काठमाण्डौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ ।
काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो ।

यसैगरी बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे निर्वाचन आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

Facebook Comments