Sat. May 18th, 2024

अमेरिकाको टेक्ससमा गोली हमलामा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु

काठमाण्डौं, २०७९ जेठ ११ गते बुधबार । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एकजना शिक्षक मारिएका छन्।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताउनु भएको छ । अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको विवरणमा जनाइएको छ। उक्त विद्यालयमा ७ देखि १० वर्षका बालबालिका अध्ययन गर्छन्।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ । स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ। ६२ वर्षकी एक महिला अनि १० वर्षकी एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ।

उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ। बीबीसी

Facebook Comments