Sun. May 19th, 2024

बालेन्द्र शाह काठमाण्डौं महानगरको मेयर बन्ने पक्का, सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलको अवस्था रक्षात्मक

काठमाण्डौं, २०७९ जेठ ११ गते बुधबार । काठमाण्डौं महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजय नजिक पुग्नु भएको छ । यो समाचार तयार पार्दै गर्दा बालेन्द्र शाहले ५५ हजार ७ सय ७७ मत प्राप्त गरिसक्नु भएको छ ।

मतगणना सकिनुअघि नै उहाँले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएर विजयीको माला लगाईसक्नु भएको अवस्था छ । अब काठमाण्डौं महानगरपालिकामा १९ हजार ३ सय २३ मत गन्न बाँकी छ भने हालसम्म काठमाण्डौं महानगरपालिकामा १ लाख ७१ हजार ८ सय २ मत गनेर सकिएको छ ।

चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनावी मैदानमा होमिएका बालेन्द्र शाहको हातमा अन्तत काठमाण्डौं महानगरपालिकाको साँचो ५ वर्षका लागि आईसकेको छ । मतपरिणाम अनुसार यस निर्वाचनमा सत्तागठबन्धनका दलहरु र प्रमुख प्रतिपक्षी दल काठमाण्डौं महानगरपालिकाको हकमा रक्षात्मक अवस्थामा पुग्न बाध्य भएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले पछिल्लो मत परिणाम अनुसार ३५ हजार ३ सय ७१ मत प्राप्त गर्नुभएको छ । सिंहले नै भारी मतका साथ चुनाव जित्नेमा नेपाली कांग्रेस लगायत गठबन्धनका दलहरु ढुक्क थिए । तर त्यो केवल कोरा कल्पनामा सीमित भएको छ भने नेकपा एमालेका मेयर पदमा उम्मेदवार केशव स्थापितको अवस्था अझै दयनीय देखिएको छ । स्थापितले चुनाव जित्नेमा एमाले ढुक्क थियो तर उहाँले पछिल्लो मत परिणाम अनुसार ३४ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको थियो ।

उपमेयरतर्फ नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल अत्यधिक मत प्राप्त गर्दै विजय नजिक पुग्नु भएको छ । डंगोलले पछिल्लो मत परिणाम अनुसार ५३ हजार ६ सय ४२ मत प्राप्त गर्नुभएको छ । जुन मत उहाँका निकटत्तम प्रतिद्वन्दीको भन्दा तीन दोब्बर माथि छ ।

Facebook Comments