Sun. May 19th, 2024

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ राई विजयी

भिओके सम्वाददाता / २०७९ जेठ ८ गते आईतबार । धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार हर्क साम्पाङ राई विजयी हुनुभएको छ । विभिन्न राजनीतिक दल र ति दलहरुका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित हुनुभएको हो । उहाँ २० हजार ८ सय २१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्रप्त गर्नुभएको छ । जुन साम्पाङको भन्दा ४ हजार ७ सय ६२ कम हो ।

मेयर पदका अर्का उम्मेदवार नेकपा एमालेका मञ्जु भण्डारी (सुवेदी) ले १२ हजार ८ सय २५ मत प्राप्त गर्नुभएको छ। भण्डारी धरानका निवर्तमान उपप्रमुख हुनुहुन्छ । २०७५ साल असार १ गते उहाँसंगै प्रमुखमा निर्वाचित हुनुभएका एमालेका तारा सुब्बाको निधनपछि भण्डारीले २०७६ को उप निर्वाचनसम्म कार्यवाहक नगर प्रमुखको भुमिका निर्वाह गर्नुभएको थियो । हाल उहाँ नेकपा एमालेका केन्द्रिय सदस्य र सुनसरी जिल्ला सहइन्चार्ज हुनुहुन्छ ।

साम्पाङ विगत लामो समयदेखी धरान उपमहानागरपालिका भित्र रहेर खानेपानी, धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको बेथिती, खोला उत्खनन् तथा विभिन्न स्थानिय तथा राष्ट्रिय मुद्दाहरूमा अभियानता बनेर आन्दोलनरत हुनुहुन्थ्यो ।

धरानको उपप्रमुखमा गठबन्धनका उमेदवार आईन्द्र विक्रम बेघा विजयी हुनुभएको छ । बेघाले २० हजार ५ सय १० मत प्रप्त गर्दा उहाँका निकटत्तम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोले १७ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।

साम्पाङ विजय भएको खवर आउनासाथ सामाजिक सञ्जालमा सैयौं शुभचिन्तकहरुले उहाँको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिईरहेका छन् । अधिकांश शुभचिन्तकहरुले साम्पाङले धरानका जनताको चाहना र परिवर्तनको सपना पुरा गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Facebook Comments