Sat. May 18th, 2024

जलेश्वरको प्रमुख र उपप्रमुखमा जसपा विजयी   

जलेश्वर, २०७९ जेठ ७ गते शनिबार । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याउनुभएको हो ।

त्यसैगरी जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजय प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गर्नुभएको हो । विसं २०७९ को स्थानीय तहको सम्पन्न निर्वाचनमा जलेश्वरका १२ वडामध्ये जसपा नेपालले प्रमुख, उपमेयरसहित पाँच वडामा विजयी प्राप्त गरेको छ भने एमालेले छ वडा जितेको छ । त्यस्तै एउटा वडामा नेकपा (एकीकृत समाजवादी) ले जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Facebook Comments