Sun. Nov 24th, 2024

स्थानीय तहको निर्वाचन आज, देशभरीका ७ सय ५३ वटै स्थानीय निकायका लागि जनप्रतिनिधि छानिदै

- १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताहरु सहभागी हुँदै

काठमाण्डौ, २०७९ बैशाख ३० गते शुक्रबार । स्थानीय तहको निर्वाचन अन्तर्गत आज वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन सम्पन्न हुँदैछ । देशभरीका ७ सय ५३ वटा स्थानीय निकायका लागि जनप्रतिनिधि छान्न आज विहान ७ बजेदेखि वेलुकी ५ वजेसम्म निर्वाचन हुनेभएको हो ।

आज हुने निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र कायम गरिएको छ । यस निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताहरु सहभागी हुँदैछन् जसमा पुरुष ८९ लाख ९२ हजार १० छन् भने महिला मतदाता संख्या ८७ लाख ४१ हजार ५ सय ३०जना रहेकोछ। अन्य मतदाताको संख्या १ सय ८३ जना रहेकोछ। नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ(आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् ।

यस निर्वाचनमा देशभरका कूल १० हजार ७ सय ५६ मतदानस्थलमा रहेका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा मतदान गरिँदैछ ।  ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख,उपप्रमख, अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । जसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

आज हुने निर्वाचनकालागि केन्द्रीय सुरक्षा समितिले झण्डै ३ हजार मतदान केन्द्रलाई अति सम्वेदनसिल र ४ हजार ५ सय मतदान केन्द्रलाई सम्वेदनसिल क्षेत्रको सूचिमा राखेको छ । बाँकी रहेकाकरिव १४ हजार ५ सय केन्द्रलाई सामान्यअन्तर्गत राखेको छ ।

यसैबीच राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउनुहुँदै उहाँले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै ‘जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु हो’ भन्नुभएको छ ।

उहाँले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्य शक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

 निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनमा मतदान कार्यलाई सफल पार्न सहयोगको लागि अनुरोध गर्नुभएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् उहाँले स्वच्छ, स्वतन्त्र र विश्सनीय र मितव्यायी वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गर्नुभयो।

“प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो”, उहाँले भन्नुभयो, “कानुन बमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचन आयोगले प्रदान गरेको छ।” उहाँले विचार, निष्ठा र सिद्धान्तबाट निर्देशित भएर मतदान गर्न तर, कुनै पनि पद, पैसा पहुँच, प्रलोभन वा आश्वासनमा नपर्न पनि उल्लेख गर्नुभयो।

Facebook Comments