Tue. Dec 24th, 2024

स्थानीय तहको निर्वाचन भोलि

- प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका र एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकबाट मतदान गर्ने

काठमाण्डौ, २०७९ बैशाख २९ गते बिहीबार । स्थानीय तहको निर्वाचन अन्तर्गत भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । देशभरीका ७ सय ५३ वटा स्थानीय निकायका लागि जनप्रतिनिधि छान्न शुक्रबार (भोलि)  विहान ७ बजेदेखि वेलुकी ५ वजेसम्म निर्वाचन हुनेछ ।

भोलीहुने निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र कायम गरिएको छ । भोलि हुने निर्वाचनमा निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताहरु सहभागी हुँदैछन् जसमा पुरुष ८९ लाख ९२ हजार १० छन् भने महिला मतदाता संख्या ८७ लाख ४१ हजार ५ सय ३०जना रहेकोछ। अन्य मतदाताको संख्या १ सय ८३ जना रहेकोछ। नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ-आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् ।

नेपाल टेलिभिजनका अनुसार मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ-आफ्नो क्षेत्रमा पुगिसक्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसक्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्नुहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका-७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाँैको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका-६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका-१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका-५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका-७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका-८ स्थित परोपकार माविबाट मतदान गर्नुहुनेछ । माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यामिकवि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका-२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नुहुनेछ ।

सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा (एमाले) उम्मेदवार केशव स्थापितले बागबजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नुहुनेछ ।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । जसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

Facebook Comments