Sun. Sep 22nd, 2024

जनप्रतिनिधिद्वारा मोटो आर्थिक घोटाला

काठमाण्डौ, २०७९ बैशाख २५ गते आईतबार । सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका निवर्तमान प्रमुख निमफुन्जो शेर्पाले पचासौ लाख घोटाला गरेको खुलेको छ । सिन्धुपाल्चोकमै रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनामा विभिन्न सामान सप्लाई गर्ने कम्पनी डुबाएर शेर्पा उक्त टिमबाट भाग्दै हिड्नु भएको छ जानकारी प्राप्त भएको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने छड, सिमेन्ट लगायतका सामानहरु सप्लाई गर्ने जिम्मेवारी लिएको रचित ट्रेड लिङ्क प्रा.लि.को पचास लाखभन्दा बढी रकम हिनामिना गरेर शेर्पा सम्पर्क विहीन हुनुभएको खुलेको हो । शेर्पाले कम्पनीको बैंक खातामा रहेको पचास लाख रकम निकासा गरेरको बुझिएको छ ।

रचित ट्रेड लिंकका सञ्चालकहरुले शेर्पालाई लामो समयदेखि उक्त रकम फिर्ता गर्न भने पनि उहाँले आलटाल गर्दै आउनु भएको छ । कम्पनीका सञ्चालकहरुसँग आफूले त्यो रकम फिर्ता गर्ने खबर पठाउँदै आउनु भएका शेर्पाले अहिले भने विभिन्न वाहानावाजी गर्दै आएको सञ्चालकहरु बताउँछन् ।
रचित ट्रेड लिंक कम्पनी मध्य भोटेकोशी जलविद्युत आयोजनाका लागि सामान सप्लाई गर्ने भनेर नै बनाइएको कम्पनी हो । चार जनाको नाममा दर्ता भएको उक्त कम्पनीमा निमफुन्जो शेर्पाले आफू नगरपालिकाको मेयर भएका कारण आफ्ना तर्फबाट रेशम प्रधानलाई शेयरधनी बनाउनु भएको थियो । तर, कम्पनीको सञ्चालक समितिमा भने शेर्पा आफै बसेका बस्नु भएको थियो । रचित ट्रेड लिंक प्रा.लि.को बैंक खाता शेर्पाकै हस्ताक्षरमा खोलिएको थियो । माछापुच्छ्रे  बैंकको न्यूरोड शाखामा खोलिएको बैंक खाता तीन जनाको नाममा खोलिए पनि कुनै दुई जनाको हस्ताक्षर भए पुग्ने गरी चलाईएको थियो । शेर्पाले हस्ताक्षर चल्ने मध्ये एक जनालाई फकाएर शेयर पुँजीवापत खातामा जम्मा गरिएको ५० लाख रकम निकासा गरी कम्पनीलाई टाट पल्टाउनु भएको हो ।

कम्पनीको अफिस समेत गुपचुपमा सारियो
रचित ट्रेड लिंकको कार्यालय सुरुमा महावौद्धमा राखिएको थियो । धेरै कर्मचारीहरु राखेर चलाइएको उक्त कम्पनीले मध्य भोटेकोशी जलविद्युत आयोजनामा करोडौ रकमको सामान सप्लाई गरेको थियो । तर, आयोजना बिभिन्न कारणले लम्बिदै गएपछि ब्याजबापत तिर्नुपर्ने दायित्व बढेर गएपछि कम्पनी घाटामा जान थाल्यो । त्यसपछि शेर्पाले महावौद्धमा रहेको कम्पनीको कार्यालय रातारात दरवारमार्गको महेन्द्र शालिक अगाडि रहेको उडल्याण्डमा सारे । कम्पनीका पीडित सञ्चालकहरुका अनुसार कम्पनीको कार्यालय त्यहाँ सारेपछि नै उहाँले कम्पनीको बैक खाता आफ्नो मनोमानी तरिकाले चलाउन थाल्नुभयो । त्यसबारे सञ्चालक समितिका अन्यलाई जानकारी नदिएर नै शेर्पाले रकमको हिनामिना गर्न सुरु गर्नुभएको हो । स्रोतका अनुसार अन्ततः उहाँले शेयर पुँजीवापत उठाइएको कम्पनीको बैंक खातामा रहेको ५० लाख समेत बैंकबाट निकालेर सम्पर्क विहीन हुनुभयो ।

शेयरपुँजी गायव, कम्पनीलाई करछलीको मुद्दा
निमफुन्जो शेर्पाले कम्पनीको खातामा रहेको ५० लाख रित्याए लगत्तै उक्त कम्पनी महालेखा परिक्षकको कार्यालयबाट फूल अडिटमा प¥यो । त्यसपछि उक्त कम्पनीले मध्य भोटेकोशी जलविद्युत आयोजनालाई बेचेको सामानको भ्याट नतिरेको पाइयो । त्यसपछि राजश्व कार्यालयले कम्पनीलाई उक्त भ्याट तिर्न ताकेता ग¥यो । कम्पनीलाई कालो सूचीमै राखेर कारवाही गर्न थाले पनि शेर्पाले राजनीतिक पहुँच प्रयोग गरेर टसको मस गर्नुभएन । तर, त्यसले कम्मनीका अन्य सञ्चालकहरु भने निकै अप्ठेरोमा परे । यसरी बढ्दै गएको कम्पनीको भ्याट वापत तिर्नुपर्ने रकम अहिले २२ लाखभन्दा बढी पुगेको छ । राजश्व कार्यालयले उक्त रकम तिर्न निकै दवाव दिँदै आएको छ । रकम नतिरे राष्ट्र बैंकबाट सञ्चालकहरुका अन्य बैंक खाताहरु रोक्ने चेतावनी दिँदै आएको छ । तर, निमफुन्जो शेर्पा भने त्यसले आफूलाई कुनै असर नपर्ने बताउनुहुन्छ । उहाँले निकै चलाखीपूर्वक सुरुदेखि नै शेयर सदस्यमा अर्को व्यक्तिको नाम राखेका कारण त्यसकै फाइदा अहिले उठाउन खोजेकोे देखिन्छ । तर, उहाँले शेयर धनी आफ्ना प्रतिनिधिको नाम राखे पनि बैंक खातामा भने आफै सञ्चालक बनेर हस्ताक्षर चलाईरहनु भएको छ । साथै उहाँले आफ्नै हस्ताक्षरबाट धेरै कारोवार गर्नुका साथै अन्तिममा कम्पनीको ५० लाख नगद पनि झिक्नु भएको छ ।

शेर्पाले कम्पनीकोे बैंक खातामा रकम आफूले तानेको तर, कम्पनीमा भने आफू नभएको दावी गर्नुभयो । उहाँले आफू उक्त कम्पनीको कुनै पनि कानुनी दायित्वमा नरहेको पनि बताउनु भयो । तर, कम्पनीको केही पनि नभएको भए त्यही कम्पनीको बैंक खातामा कसरी हस्ताक्षर चलाउनुभयो भन्ने प्रश्नमा उहाँले खातामा हस्ताक्षर भने आफ्नै चल्ने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “त्यो पैसा मैले निकालेको हो तर म कम्पनीको कानुनी शेयरधनी होइन ।”

शेर्पाले कम्पनीले भ्याट नतिरेको भए कर कार्यालय र सरकारले आफूलाई कारवाही गर्ने बताउनु भयो । यसका विषयमा थप प्रतिक्रिया माग्दा सरकारले आफूलाई कुनै कारवाही गर्न नसक्ने शेर्पाले बताउनु भएको समाचार ननस्टप खवर अनलाईनले लेखेको छ ।

Facebook Comments