Sun. Sep 22nd, 2024

प्रधानमन्त्री भन्नुहुन्छ- ‘गठबन्धन वर्षौंसम्म आवश्यक’

काठमाण्डौ, २०७९ बैशाख २३ गते शुक्रबार । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौँसम्म आवश्यक रहेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट आज काठमाडौँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले हालको संवैधानिक व्यवस्था अनुसार एकल पार्टीको बहुमत आउन गाह्रो भएकोले सबै मिलेर सत्ता गठबन्धनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाउनुभयो । प्रधानमन्त्री देउवाले विगतमा बिपी कोइरालालाई फाँसी दिनुपर्ने र अहिले त्यही विरोधी भावना भएकाहरूले गठबन्धनका विषयमा बखेडा झिकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले महिला मेयरले राम्रो काम गरेको उदाहरण दिनुहुँदै नेपालमा महिला नै मेयर हुनुपर्छ भन्ने दिन पनि चाँडै आउने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विगतको सरकार रहँदा जनमानसमा डर, त्रास र आतङ्क रहेको स्मरण गर्नुहुँदै नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुसी भएको समेत जानकारी गराउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनको सहकार्य राष्ट्र र परिवर्तनको हितमा भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले महिला कार्यकारी भूमिकामा भएका ठाउँमा राम्रो काम भएकाले महिलाको योग्यतालाई सम्मान गर्न आग्रह गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशलाई अगाडि बढाउन, भ्रष्टाचारलाई शून्य पारी सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, उद्योग धन्दाको विकास, शुद्ध खानेपानी, सुन्दर बस्तीको विकास गर्न गठबन्धन बनेको बताउनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक विकास र राजनीतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक भएकाले केही मानिसले गठबन्धनलाई कमजोर पार्न खोजेको बताउनुभयो ।

सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको र प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गर्नुभयो । रेडियो नेपाल

Facebook Comments