Sat. May 18th, 2024

उदयपुरमा ट्युसन पढ्न हिँडेकी छात्राको हत्या, प्रतिशोधका कारण मिल्ने साथीबाटै हत्या भएको अनुमान

काठमाण्डौं, २०७८ चैत २३ गते बुधबार । उदयपुरमा ट्युसन पढ्न हिँडेकी एक छात्राको हत्या भएको छ। बेलका नगरपालिका-३ बुद्धचौककी १५ वर्षीया छात्रा कविता सुनुवारको शरीरमा चोटपटकसहित मङ्गलबार बिहान शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक तेजप्रसाद दाहालका अनुसार स्थानीयले घरबाट करिब दुई किलोमिटर पर खोलामा छात्राको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कोशी जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनुवार मङ्गलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँड्नु भएको थियो । घरबाट हिँडेको दुई घण्टापछि उहाँको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटना लगत्तै स्थानीयले सत्य तथ्य छानबिनको माग गरेका छन्। प्रहरीले घटनाको सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको दाहालले जानकारी दिनुभयो।

किशोरी हत्या साथीबीच प्रतिशोधका कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । एउटै विद्यालय, एउटै कक्षामा पढ्ने साथीबाट प्रतिशोधका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।

स्थानीयका अनुसार शरीरमा चोटपटक लागेको र विशेषगरी टाउकोमा गहिरो प्रहारभई चोट लागेको रगताम्य अवस्थामा लास फेला परेको थियो । उनको टाउकोमा ढुङ्गा र वियरको बोतल प्रयोग गरी प्रहार भएको घटनास्थलको प्रकृतिलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् । घटनास्थल र लासको प्रकृतिबाट प्रहरी र स्थानीय किरोशीको हत्या नै भएको निचोडमा पुगेको थियो ।

“संगै पढ्ने साथी-साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको देखिएको छ ।” घटनाको प्रारम्भिक अनुसन्धानबारे इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरीक्षक तेजप्रसाद दाहालले भन्नुभयो “सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्नेछ ।” घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुई दाजु-वहिनीलाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । बेलका नपा-३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल ९खत्री० लाई पक्राउ गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको बुझिएको छ ।

प्रनि दाहालका अनुसार पक्राउ पछि सोधपुछको क्रममा उनीहरुबाट प्रतिशोधका कारण हत्या भएको कुरा खुलेको छ । मृतक कविताले आफुलाई विभिन्न कुरामा ब्याकमेलिङ गर्ने, तनाव दिने गरेकोले त्यसैको रिस फेर्न योजना बनाई एकाविहानै फोन गरेर ट्युसन पढ्न बोलाएको र बाटैमा रोकेर दाजुसंग मिलेर कुटपिट गरेको प्रहरीलाई वयान दिएकी छिन् । विहान पटक-पटक मृतकसंग फोनमा कुरा भएको कुरा प्रहरीले पत्ता लगाएको छ । घटनाको एकाविहानै पक्राउ परेकी सरिताले नै मृतक कवितालाई फोन गरेर बोलाएको पत्ता लागेको छ । फोनबाट बोलाएर एकान्तमा लगेर कुटपिट गरेको र घटनाले ठूलो रुप लिने डर भएपछि दाजुवहिनीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

उनीहरु स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतका अनुसार पक्राउ परेकी सरिता र मृतक कविता विद्यालय र गाउँका मिल्ने साथी थिए । साथीको नाताले ढकाल दाजु-वहिनी मतृक कविताको घरमा बाक्लै आउजाउ गर्ने गर्दथे । मृतक कविता विद्यालयकै अनुशासित, इमान्दार, मेहनती र जेहेन्दार छात्रा थिइन् । विद्यालयले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कडा कारवाहीको माग गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments