Wed. Dec 25th, 2024

युक्रेनको बुचामा ३ सय जना सर्वसाधारणलाई यातना दिईएको र मारिएको राष्ट्रपति जेलेन्स्कीको दाबी

काठमाण्डौं, २०७८ चैत २२ गते मंगलबार । युक्रेनको राजधानी किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला “३०० जनाभन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको” आरोप लगाउनु भएको छ । बीबीसीले स्वतन्त्र रूपमा उक्त दाबीको पुष्टि भने गर्न सक्ने अवस्था छैन।

सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिनुभयो।

उहाँले हाल आफूहरूसँग बुचामा मात्रै “३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको” बताउँदै पुरै सहरमा अनुसन्धान गरिँदा पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताउनु भयो।

”किएभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको” बताउनु भयो।

जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताउनु भएको छ ।

Facebook Comments