Mon. May 20th, 2024

फाइनलमा पीएनजीलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेटको उपाधि

काठमाण्डौं, २०७८ चैत २१ गते सोमबार । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिशत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्याउन सक्नुभएन । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाउनुभयो । यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सक्नुभएन ।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिनुभयो । उहाँले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिनुभयो । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि उहाँले चार विकेट लिँदा २१ रन खर्चिनुभएको थियो ।

यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । करणले तीन ओभरमा २७ रन खर्चिंदा सन्दीपले चार ओभरमा २५ रन दिनुभयो । यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित पीएनजीविरुद्ध १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार गरेको थियो । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाउनुभएको थियो । उहाँले ३८ बलमा पाँच चौका प्रहार गर्नुभयो ।

नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट हुनुभएको थियो । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट हुनुभएको थियो ।

यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोड्नुभयो । पीएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पार्नुभयो ।

शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी थिए । टी-२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो ।

Facebook Comments