Mon. May 20th, 2024

पाकिस्तानमा संसद विघटन, मध्यावधि चुनावको घोषणा

काठमाण्डौं, २०७८ चैत २० गते आईतबार । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गर्नुभएको छ ।

संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गर्नुभएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा गर्नुभएको हो। पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ ।

संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध पेश भएको अविश्वासको प्रस्तावलाई खारेज गर्नुभएको थियो । पूर्व क्रिकेटरसमेत रहनु भएका प्रधानमन्त्री इमरान खानले विदेशीको इशारामा अविश्वासको प्रस्ताव आएको दाबी गर्दै आउनु भएको छ ।

विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएपछि इमरान सरकारलाई समर्थन गरेका सहयोगी दलले मात्र होइन, इमरानकै दल पाकिस्तान तहरिक ए इन्साफका केही सांसदले पनि त्यसमा समर्थन जनाएका थिए । ३४२ सदस्यीय पाकिस्तानी संसदमा इमरानको दलका १५५ सांसद थिए ।

तर संसदमा अविश्वासको प्रस्ताव आएपछि इमरानका समर्थक घट्दै थिए । विपक्षी गठबन्धनमा १७४ जना पुगेका थिए । उहाँकै दलका कतिपय सांसद समेत विपक्षी गठबन्धनमा सहभागी भएका थिए ।

Facebook Comments