Thu. May 2nd, 2024

नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन आज

काठमाण्डौं, २०७८ चैत १९ गते शनिबार । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ ।

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील तथा पेशागत कानून व्यवसायीहरुको समूह र प्रगतिशील तथा पेशागत कानून व्यवसायी समुहबीच कडा प्रतिस्पर्धा हुँदैछ । यस निर्वाचनमा सत्ता साझेदार दलहरूको गठबन्धन पक्षधर कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानून व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

यस पटकको निर्वाचनमा गठबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । उक्त समूहको नाम ‘वृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानून व्यवसायी समूह’ रहेको छ, भने प्रमुख प्रतिपक्षी दल पक्षधर कानून व्यवसायीको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गर्नुभएको छ । उक्त समूहको नाम ‘प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूह’ रहेको छ ।

यस निर्वाचनका लागि दुवै समूहले मेचीमहाकाली अभियान सम्पन्न गरिसकेका छन् । त्यसैगरी दुवै समूहले उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम पनि भव्य रुपमा काठमाडौंमा गरेका छन् ।

प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूहको नेतृत्व गर्नुभएका वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी आफ्नो समूहले सफलता हात पार्ने दाबी गर्नुहुन्छ । उहाँले चुनावका क्रममा मेची महाकाली भ्रमण गरेको र आफ्नो समूहमा बढी पेसागत पृष्ठभूमिका साथी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समावेशी समूह छ, समग्र न्यायालय सुधारको योजना भएकाले मेरो नेतृत्वको समूहले जित्ने निश्चित छ ।”

नव प्रवेशी कानून व्यवसायीहरुले भोग्नु परेका समस्याहरुलाई सम्बोधन गर्ने अधिकारीले बताउनु भएको छ । साथै अधिकारीले नयाँ प्रवेशी कानून व्यवसायीलाई प्रभावकारी रुपमा तालिम दिने योजना रहेको पनि बताउनुभयो । अधिकारीले भन्नुभयो, राजनीतिक हस्तक्षेपबाट बारमुक्त हुनुपर्छ, प्रत्येक कानून व्यवसायीले न्यायका लागि अदालत जान नसक्नेलाई निःशुल्क कानूनी सेवा दिनुपर्छ ।

अर्कोतिर वरिष्ठ अधिवक्ता घिमिरेले नेतृत्व गर्नुभएको बृहत लोकतान्त्रिक, प्रगतिशील तथा पेशागत कानून व्यवसायीहरुको समूह निर्वाचन आफुहरुले जित्नेमा विश्वस्त छ । अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता घिमिरे भन्नुहुन्छ, “विकृति, विसङ्गतिमुक्त न्यायालय बनाउन हामी लामो समयदेखि लडिरहेका छौं । घिमिरेले भन्नुभयो, “न्यायपालिकाको शुद्धीकरण गर्ने काममा यो समूह लाग्नेछ ।” उहाँका अनुसार नयाँ प्रवेशीलाई मर्यादित रुपमा पेसामा ल्याउन सहयोग गर्ने चुनावी घोषणापत्रमा छ । “हाम्रो समूह हरेक हिसाबले अब्बल छ, कानून व्यवसायी पेसागत सुधारका लागि काम गर्नेछौँ”(वरिष्ठ अधिवक्ता घिमिरेले भन्नुभयो,“हाम्रो समूहले निर्वाचन जित्नेका ढुक्क छु ।”

प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूहको तर्फबाट अधिवक्ता केदार प्रसाद कोईरालालाई महासचिव पदको उम्मेदवार बनाईएको छ । कोइराला नेकपा एमाले निकट उम्मेदवार हुनुहुन्छ । उहाँ विगत ३० वर्षदेखि कानून व्यवसायमा आवद्ध हुनुहुन्छ । अनुभव र कार्यक्षमताको आधारमा आफुले यस निर्वाचनमा विजयी हासिल गर्ने कोइरालाको दावी छ ।

नेपाल बार एशोसिएशनको इतिहासमै पहिलो पटक महासचिव पदमा महिलालाई उम्मेदवार बनाईएको छ । ‘वृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानून व्यवसायी समूह’को तर्फबाट अधिवक्ता अन्जिता खनाललाई महासचिव पदको उम्मेदवार बनाईएको हो । खनाल नेकपा माओवादी पक्षधर उम्मेदवार हुनुहुन्छ । उहाँसँग झण्डै २५ वर्षको पेशागत अनु्भव रहेको छ । खनाल आफ्नो विजय सुनिश्चित भएको बताउनु हुन्छ ।

२५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि आज हुने निर्वाचनमा दशभरी ९ हजार ६ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये काठमाण्डौं उपत्यका भित्र ५ हजार ८ सय जना रहेका छन् भने उपत्यका बाहिर ३ हजार ८ सय ७ जना रहेका छन् ।

नेपाल बार एशोसिएशनको निर्वाचन तीन/तीन वर्षमा हुने गरेको छ ।

Facebook Comments