Mon. Dec 23rd, 2024

नाट्टाको निर्वाचन आज, थापा र बस्नेतको प्यानलबीच कडा प्रतिस्पर्धा हुने

काठमाण्डौं, २०७८ चैत १७ गते बिहीबार । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को निर्वाचन आज हुँदैछ । सो निर्वाचनमा लोकतान्त्रिक पक्षधर र वामपन्थी पक्षधरका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

उक्त निर्वाचनमा नेपाली कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । बस्नेत हाल नाट्टा कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ कोशी टुर एण्ड ट्राभल्सका सञ्चालक हुनुहुन्छ । उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा सुधीरकुमार उपाध्याय पौडेल र उपाध्यक्षमा सुनिल शर्मा (खतिवडा) उम्मेदवार हुनुहुन्छ ।

यसैगरी जिस्वाँ तुलाधर श्रेष्ठ महासचिव, प्रज्ञा शर्मा पाठक सचिव, सुदर्शन नेपाल कोषाध्यक्ष र गीता ढकाल सहकोषाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ ।बस्नेतले नेपालको पर्यटन व्यवसायमा देखिएको चर्को मन्दी, व्यवसायीक हित लगायतका विषयमा केन्द्रित रहँदै विश्व वजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उम्मेदवारी दिएको बताउनु भएको छ ।

अर्कोतर्फ मनसुन ट्राभल्सका सञ्चालक थापा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल र उपाध्यक्षमा बरुण मेहता उम्मेदवार हु्नुुहुन्छ । महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य उम्मेदवार रहनु भएको छ ।

नाट्टा कार्यसमितिको सदस्य, सचिव र महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएका उपाध्यक्ष थापाले कोभिड महामारीपछिको पर्यटकीय पुनरुत्थान, समग्र व्यावसायिक समस्याको पहिचान, सम्बोधन र समाधानका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनु भएको छ ।

दुवै समूहले काठमाण्डौंमा यसअघि नै उम्मेदवार परिचय कार्यक्रम लगायत चुनाव प्रचार प्रसारका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

Facebook Comments