Mon. Dec 23rd, 2024

नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर

- चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण विशेष

काठमाण्डौं, २०७८ चैत १२ गते शनिबार । नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको दोश्रो दिन आज नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्री डा. नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीको उपस्थितिमा नौ वटा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा नेपालका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनका राजदूत हाउ यान्छीले हस्ताक्षर गर्नुभयो ।

प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारी पत्रमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र राजदूत यान्छीले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै, कृषि विकास परियोजना सञ्चालन र नेपालबाट घाँस निर्यात गर्ने समझदारी पत्रमा कृषि तथा पशु पन्क्षी विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डे र राजदूत यान्छीले हस्ताक्षर गर्नुभयो ।

यसैगरी, नेपाली उत्पादित सामान चीन निर्यात गर्ने सम्बन्धी लेटर अफ एक्सचेन्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ खुफिङले हस्ताक्षर गर्नुभयो ।

नेपाल चीनबीच रेलको सम्भाव्यता अध्ययन र अरनिको राजमार्ग हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र नाथ श्रेष्ठ र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ खुफिङले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै, कोभिड महामारीमा चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्री र भ्याक्सिन तथा चिनियाँ स्वास्थ्यकर्मीको टोली बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा स्वास्थ्य मन्त्रालयमा सचिव डा. रोशन पोखरेल र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ खुफिङले हस्ताक्षर गर्नुभयो ।

यसअघि परराष्ट्र मन्त्री डा. नारायण खड्का र चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री वाङ यीबीच नेपाल-चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको थियो ।

+ आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी
+ नेपालमा चीन-नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
+ नेपाल-चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता
+ सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी
+ चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र
+ अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र
+ रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज
+ कोभिड-१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र
+ चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी

Facebook Comments