Fri. May 17th, 2024

वीरगंजमा औद्योगिक अस्पताल स्थापना गर्न सरकारले पहल गरेको छ : मन्त्री खतिवडा

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मुलुकको प्रमुख आर्थिक केन्द्र तथा औद्योगिक नगरी वीरगंजमा औद्योगिक अस्पताल स्थापना गर्न सरकारले पहल गरी रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा काठमाडौँ गएको प्रतिनिधि मण्डलसँग आज छलफल गर्दै मन्त्री खतिवडाले औद्योगिक केन्द्रको रुपमा रहेको वीरगंजमा औद्योगिक अस्पताल आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

उहाँले पर्साको पोखरीया अस्पतालमा चाडै चिकित्सकको दरबन्दीको व्यवस्था गरिने बताउँदै हुँदै औषधी उद्योगहरूको समस्या समाधानका लागि कानूनी जटिलताका कारण बाधा भई रहेको हुँदा त्यसलाई सहज बनाउन स्वास्थ्य मन्त्रालय लागि परेको बताउनुभयो ।

छलफलका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले नारायणी अस्पतालको स्तरोन्नति गरिनु पर्ने, पोखरिया अस्पतालमा डाक्टरहरूको दरबन्दी गरिनु पर्ने, वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा काम गर्ने श्रमिकहरूलाई लक्षित गरी एउटा औद्योगिक अस्पतालको निर्माण गर्नुपर्ने, म्याद सकिएका औषधि तथा औषधिजन्य पदार्थलाई नष्ट गर्ने आधुनिक मेशिन सरकारी तवरबाट ल्याउनुपर्ने, औषधि सम्बन्धी ऐन कानूनको परिमार्जन गर्नु पर्ने, औषधि उद्योगको विकास, विस्तार, संरक्षण र संवर्द्धन निमित्त औषधि उद्योगहरूको प्रतिनिधित्व हुने गरी एक औषधि विकास परिषद् गठन गर्नु पर्ने लगायतका माग गर्नु भएको थियो ।

उद्योगी व्यवसायीहरूको माग सकारात्मक रहेको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले माग पुरा गर्ने सम्बन्धमा आफू गम्भीर रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अङ्कित खेतान लगायतको सहभागिता रहेको थियो । नेपाल टेलिभिजन

Facebook Comments