Mon. Dec 23rd, 2024

मोरङको सुन्दरहरैंचामा बलात्कार गरी १८ महिने नाबालिकाको हत्या, दुईजना पक्राउ

काठमाण्डौं, २०७८ फागुन ३० गते सोमबार । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नम्वर ७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए ।

२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो ।

पक्राउ परेका दुबै जनाले चकलेट दिएर फकाई घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिनु भएको छ । उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् । यौनांग रक्ताम्य अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

अजय चौधरी अपहरणको मुद्दामा पीडित परिवारले दिएको कमजोर बयान र परिस्थितिजन्य प्रमाण पर्याप्त नहुँदा १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका थिए ।

Facebook Comments