Mon. Apr 29th, 2024

रुसले युक्रेनमाथि ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्छ-ह्वाइट हाउस

काठमाण्डौं, २०७८ फागुन २६ गते बिहीबार । युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ।

ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै “हामी सबै सतर्क हुनुपर्छ” समेत भनेको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी “अनर्गल” भएको बताउनु भएको छ ।

उहाँले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको “स्पष्ट चाल” भएको पनि बताउनु भएको छ ।

उहाँको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू “निकै चिन्तित” रहेको बताएका छन्।

विशेषगरी रुसले गैर-परम्परागत अर्थात् ‘नन्-कन्भेन्सनल’ अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ।

त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ, तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ।

यो आंशिक रूपमा रूस संलग्न भएका अन्य द्वन्द्वग्रस्त स्थानहरूमा देखिएका गतिविधिका कारण पनि आफूहरूलाई त्यस्तो लागेको उनीहरूको भनाइ छ।

विशेषगरी सिरियामा रुसी साझेदारले रासायनिक अस्त्र प्रयोग गरेका थिए। बीबीसी

Facebook Comments