Mon. May 20th, 2024

माओवादी केन्द्रमा पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रचण्डको प्रस्ताव

- अर्को बैठक जेठ २० गते बस्ने

काठमाण्डौं, २०७८ फागुन २३ गते सोमबार । नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन स्थानीय तहकाे चुनावपछि गर्न प्रस्ताव गरिएकाे छ । आज साेमवारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रस्ताव गर्नुभएको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले अमेरिकी सहायता (एमसीसी) को विषयमा आएका फरक मतलाई सम्मानजनक हिसाबले केन्द्रमा दर्ज गरिने बताउनुभएकाे पनि नेता पुनले जानकारी दिनुभयाे ।

यसैबीच आजकाे केन्द्रीय कमिटीकाे बैठकले युवालाई प्राथमिकतामा राखेर ९७ जना केन्द्रीय सदस्यको नाम थप गरेको छ । काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साेमवार ९७ जना सदस्यको नाम प्रस्ताव गर्नुभएको हो ।

माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको छ । केन्द्रीय कमिटीमा अखिल क्रान्तिकारीका ६ जना पूर्वअध्यक्ष समेटिएका छन् ।

उज्यालो अनलाईनका अनुसार केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम रञ्जित तामाङ हुनुहुन्छ । यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो । तर माओवादीले अध्यक्षबाहेकका पदाधिकारी भने अझै चयन गर्न सकेको छैन ।

Facebook Comments