Tue. Dec 24th, 2024

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने, एमसीसी पनि बैठकको मुख्य एजेन्डा

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि काठमाण्डौमा सुरु हुँदै छ । एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर निक्कै ठूलो आन्तरिक विवादमा रहेको माओवादी केन्द्रको बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट छ । यो समूहका सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाउनु भएको थियो ।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफ्ना मत राख्ने यो समूहको तयारी छ । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका चुनावसहित पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

Facebook Comments