Tue. Dec 24th, 2024

आज सेना दिवस भव्य रुपमा मनाईदै

फाईल फोटो

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । आज नेपाली सेनाले देशभर विविध कार्यक्रमहरुको आयोजना गरी सेना दिवस मनाउँदैछ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्री पर्वको अवसरमा सेना दिवस मनाउने गरेको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो ।

देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

सैनिक वीरपूर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म एक लाख ३५ हजार ३९९ भन्दाबढी सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६८ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा २१४ महिलासहित पाँच हजार ४४७ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल दोस्रो स्थानमा छ ।

नेपाल टेलिभिजनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उहाँ परमाधिपति हुनुहुन्छ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायतविविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यसपटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्याण्ड डिस्प्लेसहित गीत सङ्गीतको धुन प्रस्तुत हुनेछ ।

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ ।

Facebook Comments