Sat. Dec 14th, 2024

युक्रेनका राष्ट्रपति जेलेन्सकीद्वारा सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

काठमाण्डौं, २०७८ फागुन १३ गते शुक्रबार । युक्रेनका राष्ट्रपति जेलेन्सकी भोलोदिमिरले रुसी आक्रमणको प्रतिरोध गर्न सेना परिचालनको आदेश दिनुभएको छ ।

रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिनु भएको हो । युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ। एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताउनु भएको छ ।

युक्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ। युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ।

रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्। रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ।

यकिन सङ्ख्या स्पष्ट भई नसकेको भए पनि अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन्। पूर्वी युक्रेनस्थित हार्कीभ सहरको स्थानीय प्रशासनले २६ जना सर्वसाधारण घाइते भएको बताएका छन्।

आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन्। बीबीसी

Facebook Comments