Mon. May 20th, 2024

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा

काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गर्नुभएको छ । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गर्नुभएको हो ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको बताउनु भएको थियो । राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनु भएको छ ।

आज बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गर्नुभएको छ ।  बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गर्नुभएको छ। बीबीसी

Facebook Comments