Mon. May 20th, 2024

एमसीसीको विरोधमा आज पनि संसद भवन बाहिर प्रदर्शन गरिने

काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आज पनि काठमाण्डौंस्थित संघीय संसद भवन बाहिर विभिन्न राजनीति दल र मोर्चाले प्रदर्शन गर्ने भएका छन् ।

बैदेशिक सहयोगको नाममा आएर सबैभन्दा धेरै आलोचना र विवादको विषय बनेको एमसीसीलाई सरकारले जसरी पनि अनुमोदन गर्ने गरी अघि बढाएपछि त्यसको विरोधमा संसद भवन बाहिर आज पनि विभिन्न दल र समुहहरुले प्रदर्शन गर्ने भएका हुन्।

आज नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी र वाईसिएल, एकीकृत समाजवादीका जनवर्गीय संगठनहरु, बैद्य, विप्लव नेतृत्वका साना कम्युनिष्ट घटक लगायत घोषित अघोषित रुपमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा बोल्दै आएका समुहहरुले पनि प्रदर्शन गर्ने बताईरहेका छन् ।

यसैबीच विगतमा जस्तो हिंसात्मक झडप नहोस् भनेर प्रहरीले संसद भवन बाहिर काँडेतार लगाएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

गृहमन्त्रालयले यस अघि नै विज्ञप्ति जारी गरेर हिंसात्मक गतिविधि नगर्न चेतावनी दिईसकेको छ ।

Facebook Comments