Sun. May 19th, 2024

नेपाली नर्सलाई अहिलेकै अवस्थामा बेलायत पठाउनु उचित छैन : परराष्ट्रविद् श्रेष्ठ

हिरण्यलाल श्रेष्ठ

काठमाण्डौं, २०७८ फागुन ११ गते बुधबार । वरिष्ठ लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अहिलेकै अवस्थामा नेपाली नर्सलाई वैदेशिक रोजगारीमा पठाउनु उचित नहुने बताउनु भएको छ ।

बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको समयमा परराष्ट्रविद् श्रेष्ठले भ्वाईस अफ काठमाण्डौंमार्फत सो विचार व्यक्त गर्नुभएको हो । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर वार्ता अघि बढाएको परराष्ट्रविद् श्रेष्ठले भ्वाईस अफ काठमाण्डौंलाई बताउनु भयो ।

आर्थिक हिसावले नेपाली नर्सले बेलायतमा प्रशस्त पैसा कमाउन सक्ने भए पनि कोरोना भाईरसको महामारी अझसम्म टरिनसकेको र यसका भेरियन्टहरु निस्कने सम्भावना अझै पनि रहेकोले नेपाली जनताकै स्वास्थ्य रक्षाका लागि उनीहरुको आवश्यकता रहँदा रहँदै बेलायत पठाउने तयारी गर्नु सान्दर्भिक नहुने परराष्ट्रविद् श्रेष्ठको धारणा छ । सामान्य अवस्थामा समेत नेपालमै नर्सहरुको अभाव रहेको विद्यमान परिस्थितीमा आकर्षक वैदेशिक रोजगारीको नाउँमा नेपाली नर्सलाई बेलायत पठाउनु गम्भिर आपत्तिको विषय भएको परराष्ट्रविद् श्रेष्ठको ठहर छ ।

नेपालमै आकर्षक तलव र सुविधा दिएर दक्ष जनशक्तिको जोहो गर्नु तत्कालिन आवश्यकता रहेको अवस्थामा गोर्खा भर्ति केन्द्रमार्फत नेपालका होनहार युवाहरुलाई भाडाका सिपाही बनाई बेलायत पठाएर गाउँघर सुनसान पारेजसै गरी नेपाली नर्सलाई आकर्षक रोजगारीको निहुँमा बेलायत पठाए त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा गम्भिर असर पर्ने चेतावनी समेत परराष्ट्रविद् श्रेष्ठले दिनुभयो ।

नेपालमै नर्सहरुको अभाव भैरहेको अवस्थामा बेलायतमा दश हजार भन्दा बढी नर्स पठाउन उचित नहुने भनाईलाई अन्यथा नलिन पनि परराष्ट्रविद् श्रेष्ठले आग्रह गर्नुभएको छ । परराष्ट्रविद् श्रेष्ठले भन्नुभयो, “हामीले आकर्षक बैदेशिक रोजगारलाई होईन आत्मनिर्भर एवम् दक्ष जनशक्तिको विकास गर्न अब ढिलो गर्नुहुँदैन ।”

Facebook Comments