Thu. Dec 5th, 2024

देशको स्वाभिमान उठाउन हामी राजनीतिमा लागेका हौं : माधव कुमार नेपाल

काठमाण्डौं, २०७८ फागुन १० गते मंगलबार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु देशको स्वाभिमान उठाउन राजनितिमा लागेको बताउनु भएको छ। सिन्धुपाल्चोक र नुवाकोटबाट पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असल उद्देश्य र मनसायका साथ राजनीतिमा लागको भन्दै समानता, न्याय र समाजवादको यात्रामा रहेका वाधा अवरोधहरुलाई पन्छाउँदै अगाडि बढेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आफूहरुले नयाँ यात्रा तय गरेको भन्दै जुन विचार र सिद्धान्त लोकप्रिय हुन्छ त्यही पार्टीलाई जनताले विश्वास गर्ने बताउनु भयो ।

एमसीसीसंगको प्रसंगमा अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा एमसीसीका विवादित प्रावधान संसोधन विना पास हुन नसक्ने भन्दै सरकार भन्दा देश र सार्वभौमसत्ता महत्वपूर्ण भएको बताउनु भयो । उहाँले यथास्थितिमा आफूहरु एमसीसीको पक्षमा नरहेको भन्दै एमसीसी भित्रका विवादित विषयमा संसद्मा छलफल हुने बताउनु भयो । आगामी चुनावमा गठवन्धन कायमै रहने भन्दै अध्यक्ष नेपालले आफ्नो अस्तित्वको चिन्ता गर्न छोडेर अरुको बारेमा विष वमन नगर्न एमालेलाई सुझाउनु भएको थियो।

सुव्वा तामाङको सक्रियतामा सिन्धुपाल्चोक र नुवाकोटबाट विजय लामा, पेम्वा लामा,आइतसिंह तामाङ, सुनिल वुढाथोकी सहित एक दर्जन भन्दा बढी कार्यकर्ताहरु नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा पार्टीका महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल, डा.गंगालाल तुलाधर सहित केन्द्रीय सदस्य र अन्य नेताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments