Wed. May 8th, 2024

बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । बैतडीको पाटन नगरपालिका वडा न. ३ झालीमालीमा आज टिप्पर दुर्घटना हुँदा ३ जना विद्यार्थी सहित ४ जनाको मृत्यु भएको छ ।

पाटन ३ मा रहेको सिगास मावि गौरीशङ्कर पोखरीका विद्यार्थी बोकेर वडा नम्बर ३ कै धुरातर्फ काठ लोड गर्न गएको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेश प्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । वडा नं ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदिप पन्त घाइते भएका छन् । १ जना गम्भीर घाइतेलाई नेपालगन्ज रेफर गरिएको छ भने ३ जनाको डडेलधुरामा उपचार भइरहेको छ ।

टिप्परमा चालक सहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

साँघुरो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । टिप्पर सडकबाट करिब २ सय मिटर तल खसेको छ । चालक फरार रहेका छन् ।

घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीका अनुसार टिप्परलाई फर्काउने क्रममा दुर्घटना भएको बुझिएको छ ।

एउटै वडाका ३ जना विद्यार्थीहरूको मृत्यु भएपछि गाउनै शोकमा डुबेको छ । रेडियो नेपाल

Facebook Comments