Fri. May 17th, 2024

एमसीसीको टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै, संसद् बैठकमा एमसीसी टेबल हुने निश्चित

काठमाण्डौं, २०७८ फागुन ८ गते आईतबार । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आज बस्दै छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू बिहान १० बजे छलफलमा जुट्दै हुनुहुन्छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अनुमोदनका लागि संसद्मा प्रस्तुत गर्न प्रस्ताव गर्नुभएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो भएसँगै आजको संसद् बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेको छ । तर, संसद् सुचारु गर्नुपर्ने र एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने अडानमा प्रचण्ड र नेपाल हुनुहुन्छ ।जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले बिहीबार साँझ प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो । देउवाले एमसीसीमाथिको छलफलका लागि संसद् अवरोध खुलाउन ओलीलाई आग्रह गर्नुभएको थियो ।

बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने छ । यसअघि पटक–पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएको थियो ।  अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ ।

आजको बैठकमा सहमति जुटे दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेका हुन् ।

माओवादी केन्द्रले गठबन्धनमा सहमति नभइ जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गर्दै कार्यकर्तालाई सडक सङ्घर्षमा पठाएको थियो  भने एकीकृत समाजवादीले आजसम्मका लागि पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमसीसी पेस गर्न सकारात्मक देखिनु भएको छ भने सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक देखिनु भएको छ ।

यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष पनि एमसीसी अगाडि बढाउन तयार भएको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूकाे अडान भने यथावत् नै रहेकाले आजको संसद् बैठकमा एमसीसी पेस भए पनि अनुमोदन हुनेमा भने अन्याेल छ ।

यसैबीच, संसद् बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसीलगायत विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । उहाँले सत्ता गठबन्धनमा सहमति बने एमसीसीलाई नरोक्ने बताउँदै आउनुभएको छ ।

Facebook Comments