Thu. May 2nd, 2024

बयालीस करोड रुपैयाँ रोयल्टी र नवीकरण शुल्क नतिर्ने ५ तारे होटल याक एण्ड यती बन्द गर्न सरकारको निर्देशन

- होटल याक एण्ड यती

काठमाण्डौं, २०७८ माघ २६ गते बुधबार । सरकारले काठमाण्डौं रहेकाे हाेटल याक एण्ड यती बन्द गर्ने निर्देशन दिएकाे छ । हाेटलकाे नाममा सञ्चालित क्यासिनाेले ४२ कराेड रुपैयाँ राेयल्टी र नवीकरण शुल्क नतिरेपछि सरकारले हाेटल बन्द गर्न निर्देशन दिएकाे हाे ।

पटक पटक ताकेदा गर्दा पनि याक एण्ड यतीले राेयल्टी र नवीकरण शुल्क नबुझाएकाले आज बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द गरिदिनुभएकाे हाे ।

आज मन्त्रिस्तरीय निर्णयले याक एण्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८/०९/२२ मा यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो ।

नेपाल सरकारलाई तिर्नु, बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक रकेन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको साथै यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६-०७७ सम्मको बँकी बक्यौता आर्थिक वर्ष २०७७-०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आ.व. २०७८-०७९ को रोयल्टी दस्तुर समेत गरी रु. ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुनअनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले बताउनु भयो ।

पर्यटन विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई यस होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई यस होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएकाे छ ।

क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाँकी रहेको सन्दर्भमा यसअघि पटक पटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत होटललाई जानकारी गराइएको थियो ।

Facebook Comments