Fri. May 17th, 2024

चाईना मिडिया ग्रुपद्वारा चिनियाँ नव वर्षको अवसरमा भव्य वसन्तोत्सवको आयोजना

काठमाण्डौं, २०७८ माघ १८ गते मंगलबार । चिनियाँ जनताको सवैभन्दा ठूलो चाड वसन्त चाडको पूर्वसन्ध्यामा चाईना मिडिया ग्रुपले भव्य वसन्त गालाको आयोजना गरेको छ । चिनियाँ जनताको नव वर्षको रुपमा रहेको वसन्त उत्सव, २०२२ लाई भव्यता दिन जनवरी ३१ तरिख राती ८ वजेदेखि वसन्त उत्सव भव्य साँस्कृतिक समारोहको आयोजना गरिएको छ ।

उक्त रात्रीकालिन उत्सवमा ७२० डिग्री रिंग स्क्रीन, एक्स-आर, ए-आर र थ्रीडी प्रविधिमार्फत दर्शकलाई नयाँ अनुभव प्रदान गरिएको थियो । जसले मानिसहरुलाई एउटा सानदार साँस्कृतिक उत्सवको आनन्द प्रदान गरेको थियो । सो भव्य उत्सवमा ख्यातिप्राप्त कलाकारहरुले नृत्य, प्रहसन, चित्रकला, जादु, कलाबाजी लगायतका विभिन्न कार्यक्रमहरुमार्फत विश्वका करोडौं दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्दै गोरु वर्षको विदाई र बाघ वर्षको स्वागत गरेका थिए ।

चाईना मिडिया ग्रुपका अनुसार यस पटकको साँस्कृतिक समारोहलाई पहिलो पटक मोवाइल फोन मार्फत पनि प्रसारण गरिएको थियो । जसलाई विश्वभरीका झण्डै २० करोड मानिसहरुले मोवाईल फोन मार्फत हेरेर आनन्द लिएका थिए ।

अमेरिका, क्यानडा, फ्रान्स, इटाली, रुस, जापान, ब्राजिल, भारत, अष्ट्रेलिया, संयुक्त अरब ईमिरेट, सिंगापुर र दक्षिण अफ्रिका लगायत विश्वका १ सय ७० देश र क्षेत्रका ६ सय भन्दा धेरै सञ्चार माध्यमहरुले सो वसन्त उत्सव सम्बन्धि समारोहलाई प्रत्यक्ष प्रसारण गरेका थिए ।

सन् १९८३ यता चीनको राष्ट्रिय टेलिभिजन सीसीटीभीले हरेक चिनियाँ वर्षको पूर्वसन्ध्या गाला प्रदर्शन गर्छ। पूर्ण परिवारले सँगै बसेर वसन्त चाड गाला हेरी नयाँ वर्ष मनाउने चलन पनि बनेको छ। वसन्त चाड गालाको कार्यक्रमबाट चीनको टेलिभिजन उद्योगको शीर्ष स्तर पनि प्रतिनिधित्व गरिएको छ। यस वर्ष सीसीटीभीले आयोजना गरेको ४०औँ गाला हो ।

Facebook Comments