चैत मसन्तसम्ममा मेलम्चीको पानी काठमाण्डौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको मन्त्री चौधरीको भनाई
काठमाण्डौं, २०७८ माघ १७ गते सोमबार । खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ ।
मन्त्रालयमा आईतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”
अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाण्डौं उपत्यकामा आउने विश्वास दिलाउँदै उहाँले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिनुुभयो ।
आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उहाँले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिनुभयो । गत असार १ गते आएको बाढीले काठमाण्डौं ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।।