Sat. Sep 21st, 2024

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट गठबन्धनका उम्मेदवार तिमल्सिना र पौडेल विजयी

काठमाण्डौं, २०७८ माघ १२ गते बुधबार । राष्ट्रिय सभा सदस्यको आज सम्पन्न निर्वाचनमा बागमती प्रदेश तर्फको खाली दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको छन् । हेटौँडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधवार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्य गरी दुई सदस्यका लागि भएको निर्वाचनमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नु भएकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा काँग्रेसका कृष्णप्रसाद पौडेल विजयी हुनु भएको हो ।

निर्वाचन परिणाम अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार र प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७ सय ३६ मतभार गरी कुल ४ हजार ८ सय २४ मतभार प्राप्त गर्नुभएको छ । भने, पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र  प्रदेशतर्फ ५६ मत अर्थात् २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गर्नुभयो ।

निर्वाचनमा नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ गरी कुल कुल ४ हजार ३६२ मतभार प्राप्त गर्नुभयो । यस्तै एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गर्नुभयो ।

यस्तै नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार गरी कुल ८४ मतभार प्राप्त गर्नुभयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले पनि स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ गरी कुल ८४ मतभार प्राप्त गर्नुभयो । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३ सय ४६ मतदाता रहेका थिए । जसमध्ये प्रदेशसभाको १०९ मा १०६ मत र स्थानीय तर्फ शतप्रतिशत अर्थात् २३७ मत खसेको थियो भने दुई मत बदर भएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताउनुभयो । रेडियो नेपाल

Facebook Comments