Fri. May 10th, 2024

नेपाल-चीन प्रतिष्ठानद्वारा पैचिंग हिउँदे ओलम्पिकको भव्य सफलताको शुभकामना

काठमाण्डौं, २०७८ माघ ८ गते शनिबार । नेपाल-चीन प्रतिष्ठानले पैचिंग हिउँदे ओलम्पिक, २०२२ को भव्य सफलताको लागि शुभकामना व्यक्त गरेको छ ।

काठमाण्डौको नक्सालमा आयोजित शुभकामना कार्यक्रममा बोल्नुहुँदै प्रतिष्ठानका अध्यक्ष पाईलट मेल्सम ओझाले आउँदो फेब्रुअरी महिनाको ४ तारिखदेखि १६ तारिखसम्म आयोजना हुने पैचिंग हिउँदे ओलम्पिक भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुहुँदै सो खेलकूदको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

नेपालको घनिष्ट छिमेकी देश चीनमा हिँउदे ओलम्पिक खेलकूद प्रतियोगिताको आयोजना हुनु एक छिमेकीको नाताले नेपाली जनताको लागि पनि गौरवको कुरा भएको ओझाको विचार छ । सन् २००८ को गृष्मकालिन ओलम्पिक खेलकूद भव्य र ऐतिहासिक रुपमा सम्पन्न गरिसकेको चीनले कोरोना महामारीको भयावह अवस्थामा पनि स्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पालन गर्दै हिँउदे ओलम्पिक सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलकूद विश्वभरीका जनताबीच आत्मिय सम्बन्ध स्थापना गर्दै विश्व शान्ति, एकता र मित्रताको सन्देश दिने महत्वपूर्ण कार्यक्रम भएकोले यस्तो पवित्र कार्यक्रमका बारेमा अनावश्यक टिकाटिप्पणी गर्ने र खेलकूद क्षेत्रमाथि राजनीति गर्ने कुनै पनि गतिविधि सोभनिय नहुने पनि अध्यक्ष ओझाले बताउनु भयो ।

कार्यक्रमका अन्य वक्ताहरुले पैचिंग हिँउदे ओलम्पिक खेलकूद प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नु विश्वभरीका सबै मानिसहरुको कर्तव्य भएकोले नेपाल चीन प्रतिष्ठान यस्तो ऐतिहासिक अवसरलाई भव्यतासाथ सम्पन्न होस् भन्ने आवाज एकसाथ गुन्जाउन लागिपरेको बताउनु भयो । साथै उहाँहरुले चीनको राजधानी शहर पैचिंग गृष्मकालिन ओलम्पिक र हिँउदे ओलम्पिक समेत गर्ने विश्वकै एकमात्र शहर भएको जानकारी दिनुहुँदै प्रतिष्ठानको तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक बधाई ज्ञापन समेत गर्नुभयो ।

उहाँहरुले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्न चीन सरकारले नेपाललाई दिएको सहयोग र समर्थनको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव सुनिता भट्टराई, पाईलटहरु सञ्जय पौडेल, गोबिन्द के.सी., आई टि सिएन राजन अधिकारी, चार्टर अकाउन्टेन्ट अच्युत भट्राई तथा प्रतिष्ठानका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल-चीन प्रतिष्ठानको स्थापना सन् २००६ मा भएको हो ।

Facebook Comments