Fri. May 3rd, 2024

उहिलेको पोखरा

- सुनिल उलक

काठमाण्डौं, २०७८ माघ ८ गते शनिबार ।

कसैको अगाडी यो तस्विर देखाइदिएर यो कहाँको तस्विर होला भनेर सोधेमा अनुमान गर्न निकै कठिनाइ पर्न सक्छ । करिव ६५ वर्ष अगाडीको पोखराको त्यो बेलाको मुख्य बजार क्षेत्र २६ कुरियाको तस्विर हो । हुन त यो तस्विरमा पोखराको आधा भन्दा बढी भाग देख्न सकिन्छ ।

सबैभन्दा उत्तरमा लामाचौर, केआइसिंह पुल, तथा भीमकाली पाटन देख्न सकिन्छ । पृथ्वी नारायण कलेजको कुनै पनि तैयारी नै नभएको हुँदा पाटन पुरै खालि देख्न सकिन्छ । बिन्द्यवासिनी देखी सिमलचौर तथा तेर्सापट्टी हुँदै रानीपौवासम्म पनि स्पष्ट देख्न सकिन्छ ।

पोखराका दुइ मुख्य दरवार सेतो दरवार र ढोका दरवार पनि देखिन्छ । तर बगाले टोल दरवार भने रुखहरुले गर्दा देखिएको छैन । सिमलचौरको बाटो भरि भएका सिमलका रुखहरु देख्न सकिन्छ । पोखरामा सलाइ फैक्ट्री आइनपुगेको हुँदा सिमलका रुखहरु काटिएका छैनन् । पोखराका अधिकांश सिमलका रुख सलाइ फैक्ट्रीले नै भ्याइदिएका हुन् ।

यस तस्विरमा न त महेन्द्रपुल बजारको कुनै रुपरेखा कोरिएको देखिन्छ । न त अहिले नयाँबजार भनिने उहिलेको स्याउलेबजारमा घडेरी नै शुरु भएको छ । केही बास्तोलाथरका बास्तोलाका घरहरु र दरवारथोक तिरका खवासहरुको केही घर देख्न सकिन्छ । राममन्दिरको पौवा भने देख्न सकिन्छ । रानीपौवामा महेन्द्र बटालियनका केही संरचना भर्खर बन्न थालेका छन् । अगाडीको चौर भने खुलै छन् । सैनिकले अहिले आफ्नो बनाएको रानीपौवाबाट फुलवारी निस्कने सेती किनारको बाटो स्पष्ट देख्न सकिन्छ ।

लेखिएका इतिहास पुस्तकमा पढ्न समय लाग्छ । लामो भएमा पढ्न अल्छी लाग्न सक्छ । तर तस्विरमा देखिने इतिहास हेर्न सजिलो हुन्छ । त्यसैले एकैछिन घोत्लिनु होला । कतै मैले उल्लेख गरेका उहिलेका नामहरु गलत त छैनन् जानकारी गराउनुहोला ।

Facebook Comments