Tue. May 21st, 2024

नेपालद्वारा अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण

काठमाण्डौं, २०७८ माघ २ गते आईतबार । नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । आज करिब १४ टन मानवीय सहायता सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको हो ।

परराष्ट्र मन्त्रालयको सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज लत्ताकपडा, औषधि, भाँडाकुँडा लगायत मानवीय सहायता सामग्री लिएर अफगानिस्तान गएको हो ।

अत्यावश्यक सहायता सामग्री लिएर गएको नेपाली टोलीले अफगानिस्तानको काबुलमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिमार्फत अफगान नागरिकलाई उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रेडियो नेपालका अनुसार नेपाली टोली अफगानिस्तान प्रस्थान गर्नु अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले समस्यामा रहेका अफगान नागरिकलाई मानवीय सहयोग सामग्री पठाएको बताउनुभयो ।

परराष्ट्र मन्त्री खड्काले सहायता सामग्री पठाएर नेपालले सङ्कटमा परेका जुनसुकै राष्ट्रका नागरिकलाई मानवीय सहयोग पुर्‍याउन तत्पर छ भन्ने सन्देश विश्व समुदायलाई दिएको र यसले नेपालको प्रतिष्ठा बढाउन सहयोग पुग्ने बताउनुभयो ।

परराष्ट्र मन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घले उपलब्ध गराएको सूची अनुसारका खाद्यान्न, औषधि, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्रीहरू उपलब्ध गराएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, सङ्घसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहयोग सामग्री अफगानिस्तानसम्म पुर्‍याउन हिमालय एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comments