Wed. Dec 25th, 2024

प्रधानमन्त्रीद्वारा परीक्षणको दायरा बढाउन र अहिले नै लकडान नगर्न सुझाव

काठमाण्डौं, २०७८ माघ १ गते शनिबार । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा नेपालमा कोरोना सङ्क्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको सङ्क्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राख्नुभएको थियो । छलफलमा सहभागी चिकित्सकले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सहभागी विशेषज्ञ चिकित्सकले कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पछिल्ला केही दिनयता सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकसमेत सङ्क्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण र वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ ।

केही अस्पतालका चिकित्सक, नर्समा सङ्क्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबुत बनाउने भन्नेबारेमा चिकित्सकहरूले सुझाव दिनुभएको छलफलमा सहभागी पाटन अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइरालाले जानकारी दिनुभयो ।

सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने उहाँहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।

चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिनुभएको थियो । “छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन”, छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्रा डा कोइरालाले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेकोे जानकारी गराउनुभयो ।” गोरखापत्र अनलाईन

Facebook Comments