Fri. May 17th, 2024

१२ लाख डोज भेरोसेल खोप चीनबाट फेरी काठमाडौं आइपुग्यो

काठमाण्डौं, २०७८ पुस २७ गते मंगलबार । कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप आज चीनबाट काठमाडौं आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।

सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कूलजनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।

Facebook Comments