Mon. May 20th, 2024

म्यान्मारका प्रजातन्त्रवादी नेता आङ सान सू चीलाई थप चार वर्ष जेल सजाय

Aung San Suu Kyi

काठमाण्डौं, २०७८ पुस २६ गते सोमबार । म्यान्मारमा एउटा अदालतले पदच्युत गरिनु भएकी प्रजातन्त्रवादी नेता आङ सान सू चीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उहाँविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एउटामा फैसला गरेको हो।

अदालतले सू चीले अवैध रूपमा वाकी-टकी राखेको र आयात गरेको साथै कोभिड-१९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको छ। यसअघि सू चीलाई गत डिसेम्बरमा पनि एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो। गत फेब्रुअरी महिनामा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उहाँलाई हिरासतमा राखिएको छ। उहाँविरुद्ध झन्डै एक दर्जनवटा अभियोग लगाइएको छ।

तर सू चीले ती सबैको खण्डन गर्नुभएको छ। उहाँविरुद्ध अन्यायपूर्वक मुद्दा चलाइएको भन्दै सर्वत्र निन्दा गरिएको छ।

सैन्य कू भएको दिन सैनिकहरूले उहाँको घर खानतलासी गर्दा फेला पारेका सञ्चार उपकरणका आधारमा उहाँलाई यो मुद्दा चलाइएको विश्वास गरिएको छ।

राजधानीमा गरिएको सुनुवाइमा सञ्चारमाध्यमलाई जान अनुमति दिइएको थिएन। सू चीका वकिलहरूलाई सञ्चारमाध्यम तथा सर्वसाधारणसँग सम्पर्क गर्न दिइएको छैन। अहिलेको निर्णयपछि सू चीले पाउने जेल सजायको कुल अवधि छ वर्ष पुगेको छ।

गत महिना सू चीलाई विमति राख्न अरूलाई उक्साएको तथा कोभिड-१९ सम्बन्धी नियम भङ्ग गरेको मुद्दामा दोषी ठहर गरिएको थियो। संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार निकायकी प्रमुख मिशेल ब्याचलेटले उक्त मुद्दाको आलोचना गर्नुभएको थियो । बीबीसी

Facebook Comments