Mon. May 20th, 2024

न्यू योर्कको एक अपार्टमेन्टमा आगलागी, ९ जना बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु

काठमाण्डौं, २०७८ पुस २६ गते सोमबार । अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ।

न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताए।

डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म आगो निभाइसकिएको छ। अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्। उनले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भनेका छन्। उनले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भनेका छन्। आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताए।

फिलडेल्फियास्थित अपार्टमेन्टमा आगलागी भएको केही दिनपछि न्यू योर्कमा यो घटना भएको हो। फिलडेल्फियामा पनि आगलागीमा परि ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो।

अधिकारीहरूका अनुसार आइतवार न्यू योर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो।

आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन्। विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ। बीबीसी

Facebook Comments