Fri. May 17th, 2024

ईशान बाल तथा महिला अस्पतालले उपचार सेवा र क्षमता बढाउँदै

काठमाण्डौं, २०७८ पुस २५ गते आईतबार । बालबालिका र महिलाहरुको उपचारमा विगत लामो समयदेखि निरन्तर सेवा दिदै आइरहेको बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रा.लि.ले उपचार सेवा र क्षमतालाई विस्तार गर्ने भएको छ ।

नवजात तथा बाल शल्य चिकित्सकको क्षेत्रमा नेपालमा ख्याती प्राप्त गरेको अवस्थामा सो अस्पतालले अहिले सार्क स्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको विज्ञप्ति मार्फत जानकारी दिएको छ । अहिले ५० वेडमा सञ्चालनमा रहेको इशान अस्पताल अव एक सय बेडको स्वीकृति लिने तरखरमा रहेको शनिबार सम्पन्न अस्पतालको २६ औँ बार्षिक साधारण सभामा अस्पतालका निर्देशक प्रा.डा रामनन्दनप्रसाद चौधरीले जानकारी दिनुभयो ।

ईशानले अहिलेसम्म बसुन्धरा चोकमा रहेको एउटा भाडाको घरबाट उपचार सेवा सञ्चालन गरिरहेको छ । तर अब छिट्टै उ आफ्नै भवनमा सर्ने तरखरमा देखिएको छ । अहिले भएको ठाँउबाट करीव २ सय ५० मिटर पछाडी टोखा ५ श्रीटोलमा बेसमेन्टसहित ८ तल्ले अत्याधुनिक भवन तयार भैरहेको छ । अन्तिम चरणको काम भैरहेकोले केही महिना भित्र त्यहाँबाट सेवा उपलव्ध गराउँने डा.चौधरीको भनाई छ ।

अस्पतालले अहिले पनि २४ घण्टा नै एमडी पेडियाट्रिक्सबाट आकस्मिक सेवा र महिला तथा प्रसूतिसम्वन्धी आकस्मिक सेवा दिईरहेको छ । एम्बुलेन्स, प्याथोलोजी, एक्सरे, फार्मेसी, सेवा पनि उपलव्ध भईरहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अस्पतालमा पेडियाट्रिक र एडल्टको ल्याप्रोस्कोपिक सर्जरी सेवा थपिएको र अब स्त्री तथा प्रसूति विभाग तर्फ पनि ल्याप्रोस्कोपी सेवा छिटै थपिने बताइएको छ । बाल तथा महिला बाहेक सबै उमेर समूहका लागि जीआई सर्जरी , हाडजोर्नी, दन्त सेवा , छाला तथा यौनरोग, नाक कान घाटी उपचार सेवा चलिरहेको बताइएको छ ।

Facebook Comments