Mon. May 6th, 2024

ह्वासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

- चीनको लगानीमा नेपालको साथ

धादिङ, २०७८ पुस २५ गते आईतबार । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा निर्माण भएको ह्वासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । उद्योग परिसरमा विहान पौने दश वजदेखि भव्य रुपमा औपचारिक कार्यक्रमको आयोजना गरि उद्योगको ‘क्लिन मेसिन फायर’ गरेर उत्पादन थालनी गरिएको हो ।

सो समारोहमा ह्वासिन सिमेन्टका चिनियाँ प्रतिनिधि, चिनियाँँ लगानीमै निर्मित होङसी सिमेन्ट कम्पनीका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुको उत्साहजनक उपस्थिीति रहेको थियो । परीक्षण उत्पादन सुभारम्भ समारोहमा ह्वासिनका उच्च अधिकारी र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि भिडियो लिङ्कमार्फत जोडिएका थिए।

उनीहरुले चिनियाँ तथा नेपाली लगानीमा स्थापना भएको ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.को स्थापना तथा सञ्चालनले नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताए ।

सो उद्योगको माध्यमबाट स्थानीयवासिन्दाहरुलाई रोजगारी लगायतका विभिन्न अवसरहरु सृजना हुने र नेपाली जनतालाई भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक गुणस्तरिय सिमेन्ट प्राप्त हुने विश्वास समेत उनीहरुले व्यक्त गरेका छन् । साथै उनीहरुले कोरोना महामारीको भयावह अवस्थामा पनि अहोरात्र काममा लागेर समयमै निर्माण कार्य सम्पन्न गर्ने चिनियाँ तथा नेपाली प्राविधिक र कामदारहरुलाई विशेष धन्यवाद दिईएको थियो ।

ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.का नेपाली लगानीकर्ता का तर्फबाट बोल्नुहुँदै रितुसिंह बैद्यले चीनको प्रतिष्ठित ह्वासिन सिमेन्ट कम्पनीसँग मिलेर उद्योग स्थापना गर्न पाउँदाच बैद्य समुह गौरवान्वित भएको बताउनु भयो । साथै बैद्यले ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.ले मुलुकको अर्थतन्त्रलाई सहयोग पुर्याउने विचार व्यक्त गर्नुहुँदै समयमै काम सम्पन्न गर्न सहयोग गर्ने स्थानीय निकायका प्रतिनिधी र चिनियाँ तथा नेपाली कामदारहरुलाई विशेष धन्यवाद दिनुभयो ।

सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार ह्वासिन सिमेन्ट कम्पनीले आफ्नो उत्पादन गरेको १ सय १५ वर्ष मनाइरहेको समयमा नेपालमा सोही ब्रान्डको सिमेन्ट उत्पादन सुरु गर्न लागेको हो । पोखरेलका अनुसार यो उद्योगबाट व्यवसायिक उत्पादनका लागि थप दुई महिना लाग्नेछ । डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही समय ढिला भएको पोखरेलले बताउनुभयो ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । ह्वासिन सिमेन्ट नेपालले ओपीसी र पीपीसी गरेर दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ ।

आफ्नै उच्च गुणस्तरको चुनढुङ्गा खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगले दाबी गरेको छ । ह्वासिन सिमेन्ट उत्पादनसँगै नेपालको सिमेन्ट बजारमा गुणस्तरको परिवर्तनको महसुस सबैले गर्ने विश्वास कम्पनीको रहेको छ । नेपाली बजारमा हुवासिन सिमेन्ट आउनेबित्तिकै गुणस्तरमा प्रतिस्पर्धा सुरु हुनेछ ।

आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सीसीआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्ने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

कोरोना कहर, प्राकृतिक विपत्तिलगायतका कारण उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रुपियाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढेको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी ह्वासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

२०७५ असार ६ गते बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ह्वासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू काङबीच उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी पैचिङमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिए पनि स्थानीय समस्यालगायतका कारणले समय लागेको हो ।

उद्योगमा ३ सय ५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बोर्डको अनुमान छ । २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपियाँ बराबरको लगानी गरेको थियो ।

Facebook Comments